जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव रुपेशकुमार साहलाई बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ स्थित तेनुवापट्टीका ४८ वर्षीय रुपेशकुमार साहमाथि पीडित महिलाले जबर्जस्ती करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएको करिब डेढ महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । धनुषा प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले उपसचिव साह पक्राउ भएको पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा रेकर्ड अनुसार साह शनिबार नै पक्राउ परेका छन् । उनी शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयको थुनुवा सूचीमा रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् ।
यता साहले प्रहरीमा आत्मसमर्पण गरेको कुरा पनि बाहिरिएको छ । प्राप्त जानकारीअनुसार उनी शनिबार जिल्ला प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव साहमाथि उनीसँगै बस्दै आएका पुरुष सहकर्मीका श्रीमतीलाई डर, त्रास र धम्की देखाउँदै पटकपटक बलात्कार गरेको आरोप छ । उनीमाथि बलात्कारको आरोप लागेसँगै साह २ महिनादेखि कार्यालयमा समेत आउन छाडेका थिए । आरोपित साहमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कारको मुद्दा दर्ता भएको डेढ महिनामा पक्राउ परेका छन् ।
आरोपित साहमाथि बलात्कारको मुद्दा दर्ता भएपछि खोजी कार्यमा प्रहरी तीव्ररूपमा लागिपरेका थिए । वरिष्ठ उपसचिव साहले गत माघ १८ गते मधेस प्रदेश सरकारको कर्मचारी आवासको एउटै तल्लामा बस्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अधिकृत घरमा नभएको मौका छोपी भगवान्को प्रसादमै नसालु पदार्थ मिसावट गरी बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।
भगवान्को प्रसाद भन्दै नसालु पदार्थ मिसावट गरी खान दिएको र त्यसपछि बेहोस अवस्थामा आफूलाई बलात्कार गरेको महिलाले दिएको जाहेरीमा लेखिएको छ । पीडित महिलाले गत चैत ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीमा आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन् । उनले दिएको सो मुद्दा २०८१ वैशाख ३ गते दर्ता गरिएको थियो ।
आरोपित वरिष्ठ उपसचिव साहले घटनाकै क्रममा भिडियो फोटोसमेत खिचेर सो सामग्री अरूलाई देखाइदिने भन्दै डर धम्कीसमेत दिने गरेको र सो सामग्रीको नाममा ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । मधेस भवनको परिसरमा रहेको आवासमा साह र पीडित बस्दै आएका थिए । पीडितका श्रीमान् नभएको बेलामा वरिष्ठ उपसचिव साह साथीको नाताले कोठामै आउने र टिभी हेर्ने गरेको सो जाहेरीमा लेखिएको छ । जबरजस्ती करणीबाट आफू गर्भवती भएको पीडितले दिएको जाहेरीमा किटान गरेकी छन् ।
प्रतिक्रिया