हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी तथा स्वामित्व नखुलेका बेवारिसे सवारी साधन लिलाम बिक्री गरेको छ । १५५ वटा २ पांग्रे तथा २ वटा चारपांग्रे सवारी साधन १९ लाख ४३ हजार ९३४ रुपैयाँमा लिलाम बिक्री गरिएको छ ।
मकवानपुरका विभिन्न प्रहरी कार्यालयमा बेवारिसे अवस्थामा थन्किएर रहेका मोटरसाइकल सँगसँगै अन्य सवारी तथा विद्युतीय सामग्रीको लिलामीका लागि कार्यालयले वैशाख ७ गते बोलपत्रआव्हान गरेको थियो ।
बोलपत्रमा सबैभन्दा बढी रकम कबोल गरेको हेटौँडा–२ स्थित रेड राइजिङ सप्लायर्सको बोलपत्र स्वीकृत भई आइतबार इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सवारी साधनहरू उठाइएको मकवानपुर प्रहरीले जनाएको छ । विगतमा प्रहरी नियन्त्रणमा रहेका सवारीसाधन पटकपटक लिलामीका लागि पहल गरे पनि कार्यविधि नहुँदा प्रहरी कार्यालय परिसरहरूमा थन्किएका थिए । सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ तयार भएर लिलामीका लागि कार्यादेश प्राप्त भएपछि मात्र प्रक्रिया अघि बढाइएको थियो ।
प्रहरी चेकजाँचका क्रममा कागजपत्र नभएका तथा विभिन्न आपराधिक घटनामा नियन्त्रणमा परेका सवारी साधनमध्ये बेवारिसेलाई मात्र हाल लिलामीको प्रक्रियामा लगिएको हो । लामो समय खुला स्थानमा घामपानीमा छाडिँदा सबैजसो सवारीसाधन कवाडीमा परिणत भएका थिए ।
मकवानपुर
प्रतिक्रिया