काठमाडौं । सहकारी ठगी प्रकरणबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा पुगेर कार्यदलका सदस्यले प्रतिवेदन बुझाएका हुन् । मंगलबार बसेको कार्यदलको बैठकले कार्यादेशमा ४ बुँदे सहमति गरेको छ ।
उक्त कार्यादेशमा सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने उल्लेख छ ।
‘संघीय संसदमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अन्य विपक्षी दलका प्रतिनिधि सभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा उठाउनुभएका मुद्दा र कानून विपरीत बचतकर्ताहरूको बचत दुरुपयोग भएको भनी संसदीय छानबिन समितिको माग हुँदै आएको विषयमा अध्ययन गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको छ,’ सहमतिमा भनिएको छ ।
प्रतिक्रिया