सृष्टि जन्मिनुअघि पनि ज्ञान थियो ?

मानिस समाजमा बस्न थालेपछि व्यक्तिलाई समाजको अनुकूल हुन तथा समाजलाई दूषित हुन नदिन पहिले व्यक्तिले र पछि समाजले चालेको सचेत कदम नै शिक्षाको प्रारम्भ हुनुपर्छ । समाजले जब यस किसिमको पद्धति वा प्रणालीलाई स्वीकृति दियो, तब औपचारिक शिक्षा सुरु भयो । तर, यस किसिमको औपचारिकताभन्दा पनि पहिले मानिसमा विवेक थियो, ज्ञान थियो ।

सञ्जय साह मित्र

अध्यात्म हो कि भौतिक विज्ञान हो तर दर्शनशास्त्रमा भने तर्क आइरहेको छ । नयाँ तर्कले विद्वानहरुलाई चिन्तन गर्न लगाउँछ । ज्ञान पहिले कि भौतिक वस्तु ? यो प्रश्न त उही पहिले कुखुरा कि अन्डा भन्ने जस्तो लाग्न सक्छ । तर विज्ञानले तथ्यको आधारमा तर्क खोज्दछ । तथ्य प्रामाणिक हुन्छ । यद्यपि एकपछि अर्को गर्दै कतिपय तथ्य पुराना बन्दै जान्छन् र कतिपय तथ्य नयाँ बन्दै आउँछन् । भौतिक विज्ञान नै भन्दछ, हरेक परिणाम कुनै अर्को परिणामको लागि कारण हो र हरेक कारण कुनै कारणको परिणाम हो अर्थात् कारणको पनि कारण हुन्छ र परिणामपछि पनि परिणाम आउँछ । कारण मात्र देख्नु र परिणाम मात्र बुझ्नु दुवै अधुरा बुझाइ मात्र हुन सक्छन् ।

के सूर्यको उत्पत्ति पनि नियोजित हो ?वा, सूर्यको विकास पनि विकासवादी सिद्धान्तले भने जस्तै क्रमिक रुपमा भएको हो ?अनि, सूर्य चाहिँ सृष्टिभित्र पर्छ कि पर्दैन ? सामान्य अर्थमा सृष्टि भनेको त रचना हो तर सृष्टिको अर्को सामान्य अर्थ पृथ्वी पनि हो । पृथ्वीभित्र सूर्य पर्दैन किनभने पृथ्वीले सूर्यको परिक्रमा गर्दछ र पुराणमा वर्णित कथालाई अनुसरण गर्ने हो भने शिवलाई चारैतिर प्रदक्षिणा गणेशले गरेका थिए । अनि चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने तथा पृथ्वीले सूर्यको परिक्रमा गर्ने हुँदा कम्तीमा मालिक वा पिताको समान मूल्य हुनुपर्छ भन्ने अनुमान गर्न सजिलो हुन्छ । अध्यात्ममा एउटा निकै प्रचलित शब्द हो – अपौरुषेय । पृथ्वी, जल, अग्नि, वायु, गगन, चन्द्र, सूर्य आदि अपौरुषेय हुन् । पृथ्वीमा पनि यस्ता अनेक तथ्य विद्यमान छन् जसलाई कुनै पुरुषले रचेका होइनन् वा कसैको पुरुषार्थ होइन । कसैको पुरुषार्थ होइन भने अपौरुषेय भए । अनि, माथि कार्य कारण सम्बन्धमा भनिएअनुसार पृथ्वी, जल, अग्नि, वायु, गगन, चन्द्र, सूर्यको उत्पत्तिको पनि कारण हुुनुपर्छ, अपौरुषेय भए पनि अकारण नहुने हो कि?

वेदलाई पनि अपौरुषेय मानिन्छ । सम्भवतः विश्वमा लिखित साहित्यमा सबैभन्दा पुरानो रचना वेद हो । वेदलाई महर्षि वेदव्यासले श्रुत परम्पराबाट संकलन गरेर अक्षरको रुपमा आकार दिएका हुन् भनिन्छ । र, कतिपय अवस्थामा यो पनि तर्क दिइन्छ कि वेदव्यास कोही एक व्यक्ति नभएर वेदका ऋचा संकलनमा रहेका ऋषिहरु हुन् । जसले वेदको ऋचा संकलन गरे तिनी वेदव्यास कहलिए, जसले संकलन गरेको ऋचा वेदमा समावेश भए तिनी पनि वेदव्यास भए । र, कुनै एक समयमा तथा कुनै एक ठाउँमा मात्र ऋचाहरु संकलन गरिएका होइनन् । ऋचाहरु संकलनमा पनि केही समय लागेको हो तथा कैयौँ ऋषिहरुको योगदान रहेको हो । फेरि पनि संकलित ऋचाहरुलाई चार भागमा विभाजन गर्ने काम पनि व्यासले नै गरेका हुन् । यसै कारण पनि व्यास वेदव्यास भए । अहिले पनि ग्रामीण क्षेत्रमा कीर्तन मण्डलीका प्रमुखलाई व्यास नै भनेर बोलाइन्छ, सम्मान गरिन्छ । व्यासले स्वाभाविक सम्मान पाउँछन् ।

वेदलाई अपौरुषेय मानिनुको अर्थ वेद कोही एकको रचना होइन भन्ने मान्यताको पनि कारण हो । यस मतलाई मान्नेहरुले वेदको अर्को नाम श्रुति भनेका छन् । मानिसमा चेतना आएदेखि नै सुनाइ परम्परामा रहेका कुराहरुलाई लिपिबद्ध गर्ने काम वेदव्यास (हरु ?)ले गरेका हुन् । लिपिबद्ध गर्ने काम लिपिको आविष्कार भएर त्यसमा प्रशिक्षित भएपछि मात्र अर्थात् लिपिलाई जान्नेहरुको मतैक्य भएपछि भएको हो । लिपिहरु आफ्नो समयका वैज्ञानिक रेखांकन नै हुन्, वाणीलाई सुरक्षित गर्ने सरलीकृत माध्यम नै हुन् । लिखितमा आउनुभन्दा पहिले सबै ज्ञान श्रुति परम्परामा थियो । आचार्यले शिष्यलाई ऋचाहरु घोकाउँथे । आचार्यलाई ऋचाहरु कण्ठस्थ हुन्थ्यो । यो परम्परा कैयौँ शताब्दीसम्म चलिरह्यो । अनि अलिकति थोरै अगाडि बढेर विचार गर्ने हो भने एउटा प्रश्न उठ्छ – गुरुकुलमा औपचारिक वा अनौपचारिक रुपमा शिक्षाको परम्परा प्रारम्भ हुनुभन्दा पहिले पनि त समाजमा ज्ञान थियो होला । यसरी गुरुकुलमा शिक्षा दिइनुपर्छ भन्ने ज्ञान पनि कतैबाट आएको होला ।

मानिस समाजमा बस्न थालेपछि व्यक्तिलाई समाजको अनुकूल हुन तथा समाजलाई दूषित हुन नदिनको लागि पहिले व्यक्तिले र पछि समाजले चालेको सचेत कदम नै शिक्षाको प्रारम्भ हुनुपर्छ । समाजले जब यस किसिमको पद्धति वा प्रणालीलाई स्वीकृति दियो तब औपचारिक शिक्षा सुरु भयो तर यस किसिमको औपचारिकताभन्दा पनि पहिले मानिसमा विवेक थियो, ज्ञान थियो । भएकै ज्ञानलाई व्यवस्थित बनाउने प्रयास शिक्षाको औपचारिक सुरुआत हो । जसलाई अहिलेको भाषामा अनौपचारिक नै मान्नुपर्ने हुन्छ । त्यस समय लेख्य परम्परा थिएन, श्रुत परम्परा नै थियो । अझ बढी व्यावहारिक कुराहरु हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । अनि मानिस समाजमा बस्नुभन्दा पहिले मानिसमा ज्ञान थियो कि थिएन?यदि ज्ञान थिएन वा आएन भने कसरी समाजमा कसरी बस्न सिके त ? यसैले यो पनि प्रश्न उब्जने गरेको छ कि पहिले चेतना कि पहिले शरीर ? पहिले वेद कि पहिले सृष्टि ?द्विविधा नहोस्, वेदलाई सम्मानगर्दै ज्ञान शब्दले पनि सम्बोधन गर्ने गरिएको पाइन्छ ।
स्वामी एकार्थानन्दको भनाइ छ – वेद सीमित छैन किनभने ज्ञान सीमित हुदैन । अर्थात्, ज्ञान असीमित भएकोले वेद असीमित छ । सृष्टि हुनुभन्दा पहिलेदेखि नै ज्ञान छ ।

ज्ञान सृष्टिको बारेमा होस् वा सोझो अर्थमा जीवन र जगत्को बारेमा । यस भनाइले ज्ञानको महिमालाई बढाएको छ । ज्ञानको सीमा त असीमित छ भनेर सबैले भन्दै आएका छन् तर कहाँसम्म असीमित यसबारेमा भने यस भनाइले विस्तार गरिसकेको छ । अर्थात्, जतिखेर जीवन छैन वा थिएन, त्यत्तिखेर पनि ज्ञान थियो । जीवन नरहँदा पनि ज्ञान रहिरहने छ । जसरी म नहुँदा पनि ज्ञान थियो र म नरहँदा पनि ज्ञान रहने छ । सृष्टि नहुँदा पनि ज्ञान थियो अर्थात् सृष्टिभन्दा पहिलेदेखि नै ज्ञान छ ।

सृष्टि भएपछि ज्ञान भएको हो भन्ने हाम्रो अनुमान होला तर अनुमान नभइकनै वा जड वस्तु नभइकनै त्यसको बारेमा हामीलाई ज्ञान हुन्छ र त्यसका लागि हामीले काम गरिरहेका हुँदा रहेछौँ जीवनमा । कोही सबै भौतिक सुखसुविधाले पूर्ण जस्तो भइसकेको भए पनि, समाज अनुकूल, उसले धन सञ्चय गर्दछ । धन सञ्चय किन गर्दछ ?भविष्यमा सन्तानको लागि, सन्तानको सुखको लागि । सन्तान नजन्मेकाहरुले पनि यो बुझेका हुन्छन् कि हामी सन्तान प्राप्त गर्ने छौँ र तिनले पनि सन्तान प्राप्त गर्नेछन् र सबैको लागि भनेर सम्पत्ति संग्रह गर्दछौँ । सम्पत्ति संग्रहको आत्मसुखमा रमाउँछौँ । अझ सजिलो गरी, साना बालबालिका विद्यालय किनगइरहेका हुन्छन् भने ज्ञानार्जन गरेर भविष्यमा म एक योग्य नागरिक बन्छु । अझ धेरैले त अनेक सपना देखेका हुन्छन् । विद्यालय जाने साना बालबालिकालाई यदि सोध्ने हो भने धेरैले भविष्यमा आफू के बन्ने, त्यसको सजिलो जवाफ दिइरहेका हुन्छन् अर्थात् भविष्यबारे वर्तमानले पनि ज्ञान सञ्चय गर्दछ । ज्ञानले विगत बताउँछ, वर्तमान सजाउँछ र भविष्य बनाउँछ । ज्ञान त भूत हो, वर्तमान हो र भविष्य पनि हो । यस अर्थले यस तर्कलाई पनि बल दिन्छ कि सृष्टि हुनुभन्दा पहिले पनि ज्ञान थियो । सम्भवतः ज्ञानले नै सृष्टि गरेको हो वा ज्ञानको व्रmमिक विकासको प्रतिफल सृष्टि हो ।

समाजले पहिलेदेखि नै भन्दै आएको छ, सृष्टि अनन्त छ । यही पृथ्वी अनन्त छ वा पृथ्वीजस्ता अनेक ग्रह र उपग्रहहरु अनन्त छन् । सबै कुराको व्यापकतालाई यस भनाइले समेटको छ । ज्ञानको अनन्ततालाई पनि समेटेको छ । यदि ज्ञानको अनन्तता र असीमिततालाई कल्पना गर्दै जाने हो भने अनन्त ब्रह्माण्डहरुको कल्पना आउन थाल्छ । के यिनीहरुको बारेमा हामीले मान्ने गरेको वेदमा संकेत छैन त ? ज्ञानको अनन्तताले कुनै पनि भौतिक उपस्थितिभन्दा पहिले चेतनाको उपस्थिति हुन्छ भन्ने कुरालाई पुष्टि गर्दछ ।

प्रतिक्रिया