मधेस ब्युरो । मधेसमा बढेको अत्यधिक गर्मीले यहाँको जनजिवन अस्तव्यस्त बनेको छ । शनिवार र आइतवार अत्यधिक गर्मी बढेर जनजीवन निकै प्रभावित भएको हो । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो ।
तराइमा तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।
गर्मीका कारण आइतवार बिहानदेखि रौतहटमा यस वर्षको सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । दिउँसो तापक्रम ४१ डिग्रीसम्म पुगेको र आइतवार बिहान भने सर्वसाधारणले कहिल्यै नभोगेको गर्मी बेहोरेका छन् । कतैबाट हावा नचलेर मौसम पूरै हप्प हुँदा जनजीवन अत्यधिक कष्टकर बनेको देखिएको छ ।
यस्तै आइतबारे घरबाट शिवनगर मन्दिरमा दर्शन गर्नका लागि साइकलमा हिँडेका एक यात्रीको बाटोमै ढलेर मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो । साइकल चलाएर मौलापुरहुँदै जयनगरतर्फ गइरहेका यादव बकैया नदीको पुलमा ढलेको अवस्थामा फेला परेका थिए । साइकल रोकेर पुलमै छेउतिर ढलेकै अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय देवाहीगोनाहीको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले यादवको शवलाई प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको बताएका छन् । घटनाबारे अन्य किसिमले पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको भनाइ छ ।
अत्यधिक गर्मीले सडकमै यात्रीको मृत्यु भएको खबरले रौतहट लगायतका तराइका बासिन्दामा त्रास देखिएको छ । घाम र गर्मीका कारण निकै कम मानिस घरबाट बाहिर निस्केका छन् । अत्यधिक गर्मीले गर्दा सहर बजार तथा सडक सुनसान देखिएको छ । आइतवार बिहानैदेखि दिउँसो चार बजेसम्म बजार पनि निकै प्रभावित भएको व्यावसायीले बताएका छन् ।
अत्यधिक गर्मी भएपछि विद्यार्थीहरु कक्षाकोठामै बेहोस भएर ढल्न थालेको पाइएको छ । विद्यार्थीको चाप अत्यधिक रहेको कक्षाकोठामा अत्यधिक गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेका हुन् । बिजुलीको लाइन पनि नियमित नआउने भएकाले एउटै कक्षाकोठामा कोचाकोच गरेर सयभन्दा बढी विद्यार्थी बस्नुपर्दा गर्मीले विद्यार्थी बेहोस हुन थालेका हुन् । अत्यधिक गर्मी र विद्यार्थीको चाप बढी हुनुका साथै लाइन कट्ने समस्याले गर्दा कक्षाकोठामै विद्यार्थी बेहोस हुन थालेको जनता मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्रप्रसाद यादवले जानकारी गराएका छन् ।
दिउँसो अत्यधिक गर्मी भएर घरभित्र लुक्न थालेका सर्वसाधारण राति भने घरबाहिर सुत्न थालेका छन् । लाइन नियमित नरहने तथा घरको छानो तात्ने समस्याले कतिपय मानिस घरबाहिर झुल टाँगेर सुत्न थालेका हुन् । अत्यधिक गर्मीले सम्पूर्ण जनजीवन प्रभावित हुन थालेकाले अत्याआवश्यक काम बाहेक मानिस दिउँसो कम डिनडुल गर्न थालेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया