संसदीय समितिको कार्यादेश टुंग्याउन बैठक, निष्कर्षमा पुग्ने प्रयास

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारी ठगी प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक अहिले जारी छ । केही बेरअघि सुरू भएको सो बैठक अहिले जारी भएको हो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै उनीमाथि छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै संसद बैठक लामो समयदेखि अवरोध गर्दै आएको छ ।

त्यसैको टुंगो लगाउन आज सिंहदरबारस्थित कानुन मन्त्रालयमा कार्यदलको बैठक जारी रहेको र निष्कर्षमा पुग्ने प्रयास भइरहेकाे सत्तारूढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । आजको बैठकले संसदीय समितिको कार्यादेश टुंगोमा पुर्याउने भनिएको छ ।

एक सातामा पटक–पटक बसेको बैठक शुक्रबारसम्म आइपुग्दा सकारात्मक दिशातर्फ उन्मुख भएको र शनिबार कुनै न कुनै निष्कर्षमा पुगिने नेताहरूले बताएका छन् । गत शनिबार सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सहमति भएपनि त्यसलाई कस्ता कार्यादेश दिने भन्ने निर्क्यौल हुन सकेको छैन ।

सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारी प्रकरणमा छानबिन गर्ने समितिले व्यक्ति तोक्ने कि नतोक्ने भन्ने विवाद छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सुप्रिम, सूर्यदर्शनलगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीकै संलग्नता देखिएको भन्दै छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने अडान राखेको छ ।

तर सत्ता पक्षले भने संसदीय समिति बनाउनुपूर्व नै व्यक्तिलाई दोषी करार गर्न नहुने अडान राखेको छ। यही अडानका कारण शुक्रबार बिहानको कार्यदलको छलफल निष्कर्षमा पुग्न सकेको थिएन ।

प्रतिक्रिया