रविविरुद्ध खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई लक्षित गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह भएको बताएका छन् ।

बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए ।

नेपाली कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रविरुद्ध खनिएको भन्दै आपत्ति जनाए । अध्यक्ष ओलीले कांग्रेस जस्तो पार्टी रवि लामिछानेविरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको उनले टिप्पणी गरे ।

उनले भने, ‘अहिले नेपाली कांग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने की को भन्ने पात्रका विरुद्ध कांग्रेस खनिएको छ, कांग्रेस जस्तो पार्टी रवि लामिछानेकाविरुद्ध खनिएको छ, के खनिनु, भँगेरा मार्न जाने तोप बोकेर, बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो ।’

कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाउँदै उनले संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा बोल्न पनि नहुने बताए ।

‘नेपाली कांग्रेसले दुई तिरबाट अघ्र्यलाईं गरेको छ, एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने, उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने,’ अध्यक्ष ओलीले भने, ‘यो त सत्य हो नि त, यस्तो गर्नु हुँदैन, रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिन भनेपछि त्यसोभए तँ सहकारीको ठग, अलि मिलेन ।’

अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताए । उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो भन्दै प्रश्न समेत गरे । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

प्रतिक्रिया