राजदेवी मन्दिरमा १० लाखभन्दा बढी भक्तजनको घुइँचो

सिरहा । बाराको गढीमाइपछि सबैभन्दा बढी बलि चढ्ने शक्तिपीठका रूपमा चर्चित सिरहाको लहान नगरपालिका–१५ ढोडनास्थित पञ्चावती राजदेवी मन्दिर (देवी थान) चण्डी पूर्णिमाका दिन लाखौ पशुपंक्षीको बलि दिइने गरिन्छ ।

यहाँ वर्षमा एक पटक चण्डी पूर्णिमा तथा बुद्ध जयन्तीका दिन ठूलो मेला लाग्ने गर्दछ । यस वर्ष जेठ १० गते आज (बिहीबार) का दिन पर्ने चण्डी पूर्णिमा तथा बुद्ध जयन्तीका दिन मन्दिरको परिसरमा बलि दिने र दर्शनका लागि आउने भक्तजनको संख्या १० लाखभन्दा बढी देखिन्छ । यस मेलामा नेपाल र भारतका लाखौँ भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष भाकल पूरा भएपछि बलि चढाउन आउने भक्तजनको संख्या बढ्दै गइरहेको छ भने नयाँ भाकल गर्नेहरूको संख्या पनि बढ्दै गएको देखिन्छ ।

लहान बजारबाट १० किलोमिटर उत्तरमा रहेको चुरे जंगलसँगै जोडिएर रहेको दुई बिघा क्षेत्रफलको जंगलमा रहेको यस राजदेवी मन्दिरमा सिरहा, सप्तरी, सुनसरी, उदयपुर, धनुषा, सर्लाही, मोहतरी, बारा, पर्सासहित छिमेकी मुलुक भारत बिहारको उत्तरी क्षेत्रका दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ ।

यस मन्दिरमा पशुपंक्षीको बलि दिएर राजदेवी माताको भाकल अनुसार पूजाअर्चना गरे सन्तान प्राप्ती, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको जानकार बताउँछन् । मन्दिरमा बोका, पाठी, हाँस, परेवा तथा कुखुरालगायतको बलि चढाउने गरिन्छ । त्यसैगरी बारा गढीमाई पछिको नेपालके दोस्रो पशुपंक्षीको बलि राजदेवी मन्दिर (देवी थान) मा दिने गरिन्छ ।

एक बिघा, पाँच कठ्ठा, पाँच धुर क्षेत्रफलमा जंगलको बीचमा रहेको मूर्तिविनाको मन्दिरमा छ । बलि दिइएको पशुपंक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे हुने भए पनि भोलिपल्टदेखि दुर्गन्ध नआउने र झिँगासमेत नलाग्ने हुँदा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास रहेको छ । थारु समुदायको बाहुल्यता रहेको यस मन्दिर क्षेत्रको वरिपरी गाउँका प्रायः हरेक घरका मानीस मेलाका लागि आउने गर्छन् ।

छिमेकी गाउँका र अन्य स्थानमा रहेका आफन्तहरू र नाताकुटुम्ब, इष्टमित्रहरू भेला भई राजदेवीलाई पशुपंक्षीको बलि चढाई पाहुनाको रूपमा बसेर प्रसाद बाँडेर खाने चलन रहिआएको छ । राजदेवीको स्थापना कहिले भयो भन्ने विषयमा मन्दिरका पुजारीले दश पुस्ताअघि त्यस क्षेत्रको जंगलमा जंगली जनावरले धेरै दुःख दिन थालेपछि धामीलाई देवीले सपनामा त्यस क्षेत्रमा मन्दिर स्थापना गरी चण्डी पूर्णिमाका दिन बलि दिनु भनेकाले यहाँ बलि दिने परम्परा चलेको बताए ।

प्रतिक्रिया