सगरमाथाबाट फर्किंदै गरेका २ आरोही बेपत्ता

सोलुखुम्बू । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा २ आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १ नेपाली र १ बेलायती नागरिक छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा संखुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएको पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए ।

चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार ७५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना बेपत्ता भएका हुन् । दुवै जनाले ८ जेठको बिहान सगरमाथाको सफल आरोहण गरेका थिए । शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि २२ चैतमा ‘एटके एक्सपिडिसन प्रालि’मार्फत् विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए । वातावरण अनुकूल भएको अवस्थामा दुवै जना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविर हुँदै शिखरतर्फ उक्लिएको पर्यटन विभागको आधार शिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

बेपत्ता दुवै जनाको खोजी गर्न उनीहरूको कम्पनीले ६ अनुभवी हिमाली पथ प्रदर्शक परिचालन गरेको पर्यटन विभागले जनाएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

प्रतिक्रिया