४०८ थान ग्यास सिलिन्डर नष्ट

बारा । ग्यास उद्योगीले पुराना सिलिन्डर प्रयोग गरेको आरोप खेपिरहेका बेला ग्यास वान नेपालले ४ सय ८ थान पुराना सिलिन्डर नष्ट गरेको छ । धेरै पुराना र हाइड्रोलिक टेष्ट फेल भएका मापदण्ड विपरितका ४ सय ८ थान ग्यास सिलिन्डर नष्ट गरेको ग्यास वान नेपालले जनाएको छ ।

ग्यास वानले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवामा रहेको उद्योग परिसरमा नेपाल आयल निगम, उपभोक्ता अधिकारकर्मी, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका अधिकारीको रोबहरमा सिलिन्डर नष्ट गरेको हो । म्याद पुगेका ग्यास सिलिन्डर नष्ट नगरे दुर्घटनाको जोखिम भएकाले हाइड्रोलिक टेष्टमा फेल भएका, सिलिन्डर नष्ट गरेको ग्यास वान नेपाल प्रालिका प्रबन्धक सरोजराज ढकालले बताए । ‘धेरै पुराना सिलिन्डर छनोट गरेर राखेका थियौं,’ ढकालले भने, ‘उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर नष्ट गरयौं ।’

ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलो पटक, त्यसपछि प्रत्येक पाँच–पाँच वर्ष र त्यसपछि ३–३ वर्षमा हाइड्रोलिक टेष्ट गर्नुपर्ने प्रावधान छ । नयाँ सिलिन्डर पनि बजारमा पठाउँदा कुच्चिए, रिङ फुटे, ग्यास लिक भए नष्ट गर्नुपर्छ ।

मुलुकमा ५८ ग्यास उद्योग रहेका छन् । अधिकांश ग्यास उद्योगले धेरै पुराना सिलिन्डर प्रयोग गर्दै आएका छन् । यसले उपभोक्तामा जोखिम बढेको छ । विभिन्न समयमा सिलिन्डरकै कारण दुर्घटना भएर मानवीय क्षती समेत हुने गरेको छ । ग्यासको गुणस्तर मापदण्ड तोकिएको छ । बारा जिल्लामै पहिलो पटक ग्यास वन नेपालले अयोग्य सिलिन्डर नष्ट गरेको हो ।

ग्यास वन नेपाल प्रालिले आयोजना गरेको अयोग्य ग्यास सिलिन्डर नष्ट कार्यक्रममा उपस्थित भएकाले ग्यास वन नेपाल प्रालिले अयोग्य ग्यास नष्ट गर्ने कार्य सुरु गरेकोमा धन्यवाद दिएका थिए । ग्यास वन नेपाल जस्तै अन्य ग्यास उद्योगले पनि अयोग्य सिलिन्डर नष्ट गर्नुपर्ने सुझाव समेत दिएको थियो । ग्यास वान नेपाल प्रालिका प्रबन्धक निर्देशक हिडेकी फुकुइको सभापतित्वमा सुरु भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगर–१६ का वडा सदस्य हेमबहादुर वुर्जा प्रमुख अतिथी थिए ।

ग्यास वान नेपाल प्रालिले आयोजना गरेको अयोग्य सिलिन्डर नष्ट कार्यक्रममा नेपाल आयल निगम लिमिटेड बिरगंजका सन्जय साह, गुणस्तर तथा नापतौल बिभागका सहायक निरिक्षक सुशान्त चौधरी, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणका नासु दिलिप खड्ग लगाएत स्थानिय समाजसेवीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया