सडक खुलेको १५ वर्षपछि कालोपत्रे

आठबिसकोटमा धमाधम सडक कालोपत्रे हुँदै

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सडक कालोपत्रेको काम धमाधम अगाडि बढिरहेको छ । नगरपालिकाको विभिन्न स्थानमा करिब ३० किलोमिटर सडक कालोपत्रेको कामले तीव्रता पाएको छ । रिम्नादेखि चिसापानीसम्म पहिलो चरणमा १० किलोमिटर, चिसापानीदेखि सिमबजार र राडी बजारदेखि क्याम्पस रोडसम्मको सडक कालोपत्रे हुन लागेको हो । सडक पिचसँगै नाली निर्माण तथा सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ ।
सडक खुलेको १५ वर्षपछि आठबिसकोटमा पिचको काम अगाडि बढाइएको हो । लामो समयदेखि सडक पिच नहुँदा यस क्षेत्रका बासिन्दा धुलो र हिलोले आजित बनेका थिए । भेरी करिडोरअन्तर्गत पर्ने रिम्नादेखि चिसापानीसम्म १० किलोमिटर सडक पिचको जिम्मा यति बिल्डरर्सले पाएको छ । १ अर्ब ८ करोड रुपैयाँमा रिम्नादेखि जाजरकोटको तल्लुसम्मको सडक निर्माण गरिरहेको यति बिल्डरर्सले असार मसान्तसम्म २० किलोमिटर सडक कालोपत्रे गरिसक्ने जनाएको छ ।

त्यस्तै आठबिसकोट नगरपालिकाको केन्द्र राडी बजारमा पनि सडक कालोपत्रेको कामले तीव्रता पाएको छ । यस क्षेत्रको ४ किलोमिटर सडक कालोपत्रेको जिम्मा पाएको गोर्खा मंगलदीप जेभिले सडक पिचको काम अन्तिम चरणमा रहेको बताएको छ । भ्याटसहित २० करोड ७९ लाखमा संघीय आयोजनामार्फत काम गरिरहेको छ । राडीबजार क्याम्पस रोड, पसाने सडक आउँदो १४ भदौसम्म निर्माण सक्नुपर्नेछ । निर्माण कम्पनीले ९५ प्रतिशत काम सम्पन्न गरेको बताएको छ । साथै मंगलदीपले सुविधा सम्पन्न सहितको बसपार्क निर्माण गरिसकेको छ ।

नगरपालिकाको ११ नम्बर वडाको चिसापानीदेखि सिम बजारसम्मको सडक खण्डमा पनि कालोपत्रेको काम धमाधम भइरहेको छ । गौरीशंकर हिमालयन कन्ट्रक्सन प्रालिले सडकमा ग्राबेलको काम अगाडि बढाएको छ । वर्षौंदेखि बर्खामा हिलो र हिउँदमा धुलोबाट ग्रसित र आजित बनेका स्थानीयहरू बाटो पिच हुनेभएपछि हर्षित बनेका छन् । गाउँका सडकहरू पिच हुँदै गएमा बढ्दो बसाइँसराइ रोकिने स्थानीयको अपेक्षा छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया