१५ मिनेटदेखि १ घण्टासम्म पद्मासनमा बस्नू । मलद्वार र जननेन्द्रीय तथा त्यस वरपरका नसालाई यो आसनमा बस्दा माथितिर तान्ने अभ्यास गर्नाले वीर्यसम्बन्धी रोग नाश गर्न अति नै बल मिल्दछ । स्त्री र पुरुष दुवैले यो आसन गर्न सक्दछन् । तर गर्भवती स्त्रीले ३ महिनापछि यो आसन नगर्नू । ५ मिनेटको पद्मासनले नै मानिसमा अत्यन्त भोक लाग्न थाल्दछ र पेटमा आमविकार भए त्यो पनि नाश हुन्छ । पेटका मांसपेसीलाई भित्रतिर तानी केहीबेर रोक्ने गर्नाले पाचनशक्ति ठिक अवस्थामा आउँदछ । ढाड सिधा राख्नाले मस्तिकमा मासीको बहाव ठीक ढंगले हुने गर्दछ । यसले गर्दा विचार गर्ने शक्ति बढ्दछ । ध्यान मग्न हुनाले यो आसनमा सिद्धि प्राप्त गर्न सहयोग मिल्दछ ।
योग किन ?
आजभोलि बाँदरले जसरी जिउ मर्काउनुलाई नै योग मान्न थालिएको छ । पछिल्ला आचार्यले हुलेका अनगिन्ति तरिका अहिले योगको पर्याय बनाइएका छन् । तर, प्राचीन शास्त्रमा योगका विधि र प्रयोजन अहिलेका विधि र प्रयोजनभन्दा फरक पाइन्छ । आसनको संख्या बताउँदै पुराणमा ८४ लाख अर्थात् जुनी बराबर आसन हुन्छन् भनिएको छ । कुनै एउटा ग्रन्थलाई मात्र आधार बनाएर भन्दा पनि सम्भव भएसम्म बढी ग्रन्थलाई आधार बनाएर यसबारेमा जानकारी लिनु नै लाभदायक हुन्छ ।
सृष्टि भएका हरेक कुराको उपभोग बढी भएपछि आयु कम हुन्छ । मेसिन होस् वा जीवको शरीर भित्र हुने मेसिनले जसरी काम गर्ने अंग नै किन नहोस् ती सबैको उचित किसिमले ठिक्क मात्रामा सञ्चालन भए तिनको आयु लामो हुन्छ । मानिसले फेर्ने सास पनि यही सिद्धान्तमा चल्दछ । कुनै भवितव्य पर्दा वा नियम नमानेर शरीरमा रोग हुलेको अवस्थामा बाहेकको स्वच्छ अवस्थामा मानिसले जति कम पटक सास फेर्ने अभ्यास गर्दछ त्यति नै उसको आयु लामो हुन्छ । यही प्रयोजन सिद्ध गर्नका लागि शास्त्रमा प्राणायामका कुरा गरिएका छन् ।
जस्तै :
यावद्देहे स्थितः प्राणो जीवितं तावदुच्यते ।
निर्गते तत्र मरणं ततः प्राणं निरुन्धयेत् ।।
अर्थात् जबसम्म शरीरमा प्राणवायु रहन्छ तबसम्म जीवलाई जीवित भनिन्छ । प्राण निस्केपछि मृत्यु हुन्छ । त्यसैले यसलाई रोक्ने अभ्यास गर्नू ।
सासलाई रोक्ने विधि छन् । पहिला थोरै समय र त्यसपछि बढाउँदै लैजाने नियम छ । पहिला बिहान मात्र, पछि साँझमा पनि र अभ्यस्त भइसकेपछि मध्याह्नमा पनि प्राणायाम गर्ने कुरा बताइएको छ । सुरुमा ॐ बाट सास रोक्न अभ्यास गर्दै पछि गायत्री मन्त्रसहित मनमनले जपी सासरोक्ने अभ्यास बढाउँदै जानुपर्ने विधि बताइएको छ । १२ अक्षर उच्चारण गर्ने समयसम्म सास रोक्नुलाई मन्द र त्यसको दोब्बर अवधिलाई मध्यम प्राणायाम भनिएको छ । प्राणायामलाई लत्याएर गरिने गायत्री मन्त्रको जप गीत जपेसरह हुने रहेछ । बिहानबेलुकी प्राणायामसहित गायत्री मन्त्र जप गर्नु तब मात्र मन्त्र जपको वास्तविक लाभ पाइन्छ भनिएको रहेछ । हातमा जनै बेरेर तीन किसिमले मन्त्र जप गर्न त सिकाइयो तर मूल कुरो प्राणायामसँग लगेर त्यसलाई जोड्न भने सिकाइएन । यसैले आधुनिक पुस्तामा गायत्री जपगर्ने चलन लोप हुँदै जान थाल्यो । स्वस्थ मानिसले आजीवन फेर्ने सासको कुल पटक निश्चित हुन्छ । दिनहुँ त्यसलाई घटाउने अभ्यास गर्नाले त्यति समय आयु थपिँदै जान्छ । यही सिद्धान्तअनुसार अति धेरै समयसम्म सास रोक्न सक्ने योगीहरू कल्पना नै गर्न नसक्ने गरी लामो आयुसम्म बाँच्ने गर्दथे । शास्त्रमा पनि योगीजनले प्राणवायुलाई विधिपूर्वक रोक्न अभ्यास गरी सिद्धि प्राप्त गरेका हुन्छन् भनिएको पाइन्छ ।
योगका आसन कतिवटा
संसारमा जति जीव छन् त्यति नै वटा योगका आसन हुन्छन् । भगवान् शिवले ८४ लाख आसनका बारेमा बताउनुभएको छ । तीमध्ये ८४ आसन श्रेष्ठ हुन्छन् । तीमध्ये पनि पृथ्वीमा बस्ने मानिसका लागि ३२ वटा आसन नै मंगललदायक हुन्छन् ।
योगका दुई उद्देश्य
योग सुरुगर्नु अघि योगकर्ताले प्रयोजनमा स्पष्ट हुनु पर्दछ । योगको प्रयोजन दुई थरी हुन्छ । भोग र मुक्ति । हत्तेरिका यो शरीर स्वस्थ बनाउन पाए कति घुम्थे, कति कुरा खान्थे, पिउँथे, के के गर्थें गर्थें भन्ने प्रयोजनका लागि गरिने योग व्यायाम हो । शरीर नित्य हुँदैन एकदिन यो नासिन्छ नै, यसैले दुःखको घर यो शरीर अब धारण गर्न नपरोस् भनेर गरिने योग मुक्ति योग हो । पहिलो योगले शरीर स्वस्थ बनाए पनि वास्तविक ढंगले मानसिक वा आध्यात्मिक स्वस्थता दिँदैन । दोस्रो थरीको योगले मानिसलाई वैराग्यतिर धकेल्दछ ।
दुवैथरी योगीले भोग गर्दछन् तर शैली र प्रयोजन बेग्लै हुन्छ ।
उत्पादन गर्ने, जम्मा गर्ने, पकाउने, खुवाउने र खाने म होइन भन्ने भाव जबसम्म मनमा आउँदैन तबसम्म मोक्ष सम्भव छैन । पृथ्वीभरका तीर्थ घुमेपनि, आजीवन चौबीसै घण्टा कुनै सन्तसँग सत्संग गरे पनि, भएभरका शास्त्र पढे पनि मानसिक वैराग्यता नआउँदासम्म मोक्षको बाटो खुल्दैन । वैराग्यता पनि स्वस्थ र अस्वस्थ गरी २ किसिमका हुन्छन् । पागल पनि वैरागी नै हो तर उ अस्वस्थ वैरागी हो । मोक्षका लागि स्वस्थ वैरागी हुन जरुरी हुन्छ ।
ज्ञानमार्ग र भक्तिमार्गबाट मोक्ष हुने विधि बेग्लै छ । तर, आफूलाई ‘म’ बाट ननिकाल्दासम्म यी तीन वटै उपायबाट मोक्ष पाउन सकिन्न । मोक्षको आधारशिला नै यही हो । तर नास्तिक दर्शनले मोक्षभन्दा भोगलाई प्रिय मान्दछ । मोक्ष काल्पनिक हो भन्दछ ।
पुनर्जन्म बाठाटाठाले गरेको खाने दाउ मात्र हो भन्दछ ।
अहिलेको युगमा प्रायः सबै सन्त, योगी र भक्तजनमा नास्तिक र आस्तिक मतको सम्मिश्रण पाइन्छ । ती भोगप्रिय पनि हुन्छन् अनि मोक्षका कुरा गरेर थाकिरहेका पनि देखिँदैनन् । पुराणका कथामा पौण्डरिक नक्कली कृष्ण बनेजस्तै यी लीला गर्दागर्दै आफैँलाई भगवान् वा भगवान्को अवतार मानिरहेका देखिन्छन् ।
योग के का लागि ?
योगका कति किसिमका हुन्छ भनेर माथि नै बताइसकिएको छ । तीमध्ये सिद्धासन, पद्मासन, उग्रासन र स्वस्तिकासन नामका उत्तम ४ आसन हुन्छन् । अन्य आसन गर्नाले नाडी शुद्ध हुन्छ तर यी चार आसन गर्नाले वायु रोकी (धारण गरेर) बस्नमा कष्ट हुँदैन र मुख्य नाडी पनि चाँडै वशमा हुन पुग्दछ ।
योगमा गरिने आसनका आआफ्ने विधि र प्रयोजन हुन्छन् । त्यो नबुझी आसन गर्नाले उद्देश्यमा सफल हुन सकिन्न । यहाँ ‘सिद्धासन’ का बारेमा केही जानकारी दिने प्रयास गरेको छु । अल्पज्ञानी तथा उपबजु्रकहरूले जथाभावी सिकाइरहेका आसनले फाइदाभन्दा बेफाइदा बढी हुने गर्दछ ।
घेरण्ड संहितामा सिद्धासन
एउटा गोडाको कुर्कुच्चालाई अण्डकोश र मलद्वारको बीचमा र अर्को गोडाको कुर्कुच्चालाई जननेन्द्रीयको फेदमा राख्नू । अनि स्थिर र सिधा बसी स्थिर तरिकाले आँखीभुइँको बीचमा हेर्नू । जितेन्द्रीय साधकले गर्ने यो आसनलाई सिद्धासन भनिन्छ । यसबाट मोक्ष प्राप्त हुन्छ ।
शिवसंहितामा सिद्धासन
योगका बारेमा जान्ने साधकले एउटा गोडाको मूलभाग अर्थात् कुर्कुच्चाले गुप्तांगलाई धकेल्दै अर्को गोडाको कुर्कुच्चा जननेन्द्रीयका फेदभागमा राख्नू । अनि दुवै आँखाले मास्थिर दुई आँखीभौँको बीचमा निश्चल बनाएर हेर्नू । इन्द्रियलाई जितेका पुरुषले यसबेला विशेषगरी शरीरलाई सिधा राखी चञ्चलता नगरी सावधानीपूर्वक बस्नु पर्दछ । यसलाई सिद्धजनलाई सिद्धि प्रदान गर्ने सिद्धासन भनिन्छ ।
यो योगको आसनको अभ्यास गर्नाले चाँडै योगसम्बन्धी ज्ञान हुन्छ । यसैले यो आसन शरीर भित्रको वायु नियन्त्रणको प्रयास गर्नेका लागि सधैँ अति सेवनीय हुन्छ । यो सिद्धासनका प्रभावले साधक संसारलाई छाडी मोक्ष हुन्छ । यो आसन समानको आसन पृथ्वीमा कुनै छैन । यसको ध्यान गर्नाले मात्र पनि योगी सबै पापबाट मुक्त हुन्छ ।
गोरक्षपद्धति तथा हठयोगप्रदीपिकामा सिद्धासन
मलद्वार र जननेन्द्रीयका बीचको भागलाई योनि वा कुण्डलिनीको स्थान भनिन्छ । यो भागलाई देब्रे गोडाको कुर्कुच्चो वा गोलिगाँठोले दबाउँदै दाहिने गोडाको कुर्कुच्चा वा गोलिगाँठोले जननेन्द्रिय माथि लगेर दबाउनू । यसो गर्दा दुवै गोडाका कुर्कुच्चा वा गोलिगाँठा तलमाथि बराबर हुन पुग्दछ । दुवै गोडाको बुढीऔँलो तिघ्रा र कुर्कुच्चाको तल छोपिन वा लुक्न पुग्दछ । यो दबाबले योनिस्थानमा रहेका दुई इन्द्रिय मलद्वार र जननेन्द्रीय रोकिन पुग्दछ । यसपछि चिउँडोलाई मुटुमाथि रहेको छातीको भागमा लगेर अड्याउनू । तदनन्तर समस्त इन्द्रियलाई तिनको विषयबाट हटाई एकाग्र मनले दुवै आँखाले स्थिर तरिकाले दुई आँखीभौँको बीच भागलाई हेरिरहनू । यो विधिले गरिने सिद्धासनले मोक्षको ढोका खोली मोक्षको बाटो देखाउँदछ ।
जननेन्द्रीयमाथि देब्रे गोलिगाँठोले दबाब दिँदै त्यसमाथि दाहिने गोलीगाँठो राख्ने आसनलाई पनि कसैकसैले सिद्धासन भनी बताएका छन् ।
आधुनिक योगग्रन्थहरूको सार
सबैभन्दा पहिले गोडा पसारेर बस्नू । त्यसपछि देब्रे गोडाको कुर्कुच्चालाई मलद्वार र जननेन्द्रीयको बीच भागलाई दबाब दिँदै राख्नू । त्यसपछि जननेन्द्रीयको फेदमा पर्ने गरी अर्को गोडाको कुर्कुच्चालाई दोबारेर लगी राख्नू । यसबेला ढाड, टाउको आदि पूरा शरीर एकदम सिधा हुनुपर्दछ । हातका पञ्जालाई घुँडामाथि वा पैँतालामाथि जता सजिलो हुन्छ त्यता राख्नू । आँखाको दृष्टि अगिल्तिर पार्नू र मनले दुई आँखीभौँको बीचमा हेरिरहेको छु भनी ध्यान गर्नू । अथवा नाकको टुप्पोमा दृष्टि स्थिर गर्नू । आँखाका पलक र आँखा हल्लिन हुँदैन, एकटकले हेरिरहनु पर्दछ । नाकको टुप्पो वा आँखीभौँको बीचमा हेर्न कठिनाई भए आँखाका सिधा रहेको कुनै विन्दुमा दृष्टि स्थिर गर्नुपर्दछ ।
सुरुमा यो आसनमा बस्ने मात्र अभ्यास गर्नू । हलचल नगरी १५ मिनेटदेखि एक घण्टासम्म बस्ने अभ्यास पहिले गर्नू । अनि बिस्तारै मलद्वार एवं जननेन्द्रीय वरपर रहेका नसालाई दिसालाई रोक्दा ताने जसरी चुमुकचुमुक पार्दै माथितिर तान्ने अभ्यास गर्नू । बिस्तारै पेटलाई भित्रतिर तान्न अभ्यास गर्नू । यस्तो अभ्यास गर्दा सासलाई बाहिर वा भित्र रोक्न सकिन्छ । अथवा समान गतिले चल्न दिन पनि सकिन्छ । आफूलाई जे गर्दा सुविधा हुन्छ त्यही गर्नू ।
यो आसनले सहवासको चाहना नियन्त्रण गर्न र वीर्य रक्षा गर्न अति नै मद्दत गर्दछ । व्रह्मचारीले यो आसन अवश्य गर्नू । जसलाई कामवासनाले सताउँदछ तिनले यो आसनका माध्यमबाट लाभ लिन सक्नेछन् । तर, खानपिन भने सात्विक हुनुपर्दछ । गृहस्थले थोरै र अन्य आश्रममा हुनेले बढी समयसम्म यो आसन गर्नुपर्दछ । दृष्टि स्थिर राख्ने अभ्यासले मनलाई एकाग्र गर्न सहयोग गर्दछ । ढाड सिधा राख्ने अभ्यासले वा चिउँडो लगेर छातीमा टेकाउने अभ्यासले दिमागको क्षमता बढ्दछ । तर यो नतिजा लगातार एक वर्षको अभ्यास नगरी थाहा हुँदैन ।
पेटलाई भित्रतिर तान्ने अभ्यासले पेटका रोग नाश हुन्छन् र पाचनशक्ति बढ्दछ । भोक बढ्दछ । तर, भोक बढे पनि नुन, मसला, अमिलो, पिरो आदि धेरै हालिएको तिक्खर खानपिन र तेलमा तारिएका कुरा खान हुँदैन । यसबेला गाईको दूध पिउनु अति उत्तम हुन्छ । जे पायो त्यही खानपिन गर्न हुँदैन ।
ब्रह्मचारिणी बाहेक अरू स्त्रीले यो आसन नगर्नू । पुरुषले पनि आफ्नो शारीरिक क्षमता र उमेर हेरी कम वा बढी अवधिसम्म यो आसनको अभ्यास गर्नू । (बडा योगासननामक पुस्तकबाट)
हठयोगको साधना नगर्ने सामान्य मानिसले यो आसनमा बस्दा चिउँडो लगेर छातीमा टेकाउने अभ्यास नगर्नू । यो आसनले नपुंसकता बढाउने हुनाले गृहस्थले लामो समय यसको अभ्यास नगर्नू ।
अर्ध पद्मासन
हामीले आचार्य बाबा रामदेवले टेलिभिजनमा तथा विभिन्न स्थानमा योगाचार्यले दिएका योगासनका बारेमा जानकारी त लिएकै हौँला । तर यहाँ प्राचीन ग्रन्थमा भएका कुराको जानकारी दिने प्रयास गरिएको छ । व्यायाम र योग समान विषय होइनन् । व्यायाम शारीरिक स्वस्थतातिर मात्र र योग शारीरिक तथा मानसिक स्वस्थतातिर केन्द्रित हुन्छ । यसैले बाँदरले जसरी वा पागलले जसरी जिउ चलाउनु योग होइन, व्यायाम हो । व्यायामका पनि विधि छन् । जथाभावी जिउ मर्काउँदैमा फाइदा नै हुन्छ भन्नु गलत हो ।
(कूर्मपुराण, उपरिविभाग, एघारौँ अध्याय)
एउटा गोडालाई अर्को तिघ्रामाथि राखी बस्नुलाई अर्धासन (अर्धपद्मासन) भनिएको छ । यो योगको उत्तम साधन हो । (बडा योगासन)
अलि मोटा मानिसलाई दुवै गोडा खप्टेर राखी पद्मासन गर्न सुरुमा असजिलो भए एउटा गोडामात्र अर्को गोडाको तिघ्रामा राखी ‘अर्धपद्मासन’ को अभ्यास गर्नू । अरू कुरा भने सबै पद्मासनको जस्तै गर्नुपर्दछ । बिस्तारै बिस्तारै अर्को गोडा पनि लगेर खप्टिने अभ्यास गर्नू । अर्धपद्मासन गर्दा अर्को गोडाको कुर्कुच्चालाई मलद्वार र जननेन्द्रीयको बीच भागमा लगेर टँसाउनू, खुला नराख्नू । अर्धपद्मासन गर्नेले दुवै गोडाको पालैपालो केही समय बिराएर अभ्यास गर्नू । पूर्ण पद्मासनको पनि अभ्यास हरेक दिन गर्दै जानू ।
विशेष कुरा ः कुनै पनि योगासन गर्दा तोकिएकै अवस्थामा बाहेक दाँत किट्न हुँदैन । जिभ्रोलाई दाँतका फेदमा लगेर स्थिर बनाउनु पर्दछ । मुखले सास फेर्न हुँदैन । कुनै पनि बाहिरी वा भित्री इन्द्रीय एवं मन पूरा स्थिर राख्न अभ्यास गर्नुपर्दछ । वायु प्रदूषण, आवाज प्रदूषणजस्ता इन्द्रीयको एकाग्रता भंग हुने स्थान वा समयमा योगाभ्यास नगर्नू, नगराउनू ।
पद्मासनका बारेमा गोरक्ष पद्धतिमा भएको मच्छेन्द्रनाथको मत यस्तो छ । दुवै गोडालाई उत्तानो पारेर प्रयत्नपूर्वक तिघ्रामाथि लगेर राख्नू । दुवै हातलाई तिघ्राका बीचमा उत्तानो पारेर राख्नू । नाकको टुप्पामा स्थिर दृष्टि राख्नू । जिभ्रोलाई दाँतका फेदमा लगेर राख्नू । चिउँडो छातीमा लगेर टेकाउनू । अनि बिस्तारै बिस्तारै वायुलाई माथितिर तान्न थाल्नू ।
त्यसैगरी पद्मासनका बारेमा हठयोगप्रदीपिका यसो भनिएको छ । दुवै गोडालाई उत्तानो पारेर प्रयत्नपूर्वक तिघ्रामाथि लगेर राख्नू । दुवै हातलाई तिघ्राका बीचमा उत्तानो पारेर राख्नू । नाकको टुप्पामा स्थिर दृष्टि राख्नू । जिभ्रोलाई दाँतका फेदमा लगेर राख्नू । चिउँडो छातीमा लगेर टेकाउनू । अनि बिस्तारै बिस्तारै वायुलाई माथितिर तान्न थाल्नू ।
यो आसनले सबै खालका रोग नाश गर्दछ । अत्यन्त दुर्लभ यो आसन कुनै पनि बुद्धिमान् साधकले गर्न सक्दछ । दुवै हात कोप्रो पारी (सम्पुटित) बलियोसँग पद्मासनमा बसेर बलियोसँग चिउँडोलाई छातीमा टँसाएर मनले ध्यान गर्दै अपानवायुलाई माथितिर तान्दै प्राणवायुलाई तलतिर लगी प्राण र अपानवायुलाई मिलाउँदै अभ्यास गर्नाले मानिस शक्तिशाली र तेजिलो हुन्छ । अपूर्व ज्ञान प्राप्त गर्न सफल हुन्छ । पद्मासनमा रही योगीले नाडीलाई पूरक गर्दै वायुलाई सुषुम्नाका माध्यमबाट शिरसम्म लगी जसले रोक्न सक्दट ऊ मोक्ष हुन्छ, यसमा कुनै शंका छैन ।
बडा योगासन :
सुरुमा पलेँटी मारेर सिधा बस्नू । त्यसपछि देब्रे गोडालाई दाहिने तिघ्रामाथि र दाहिने गोडालाई देब्रे तिघ्रामाथि छिर्के पारेर (गुणन चिह्नजस्तो पारी) राख्नू । दुवै गोडाका पैँताला लगभग उत्तानो हुनुपर्दछ । दुवै हातलाई सिधा लगेर घुँडामाथि राख्नू । अब दृष्टिलाई आँखीभौँको बीचमा, नाकको टुप्पामा वा कुनै बाहिरी सिधापर्ने बिन्दुमा स्थिर गर्नू । पद्मासन पूरा भयो । १५ मिनेटदेखि १ घण्टासम्म यो आसनमा बस्नू । मलद्वार र जननेन्द्रीय तथा त्यस वरपरका नसालाई यो आसनमा बस्दा माथितिर तान्ने अभ्यास गर्नाले वीर्यसम्बन्धी रोग नाश गर्न अति नै बल मिल्दछ । स्त्री र पुरुष दुवैले यो आसन गर्न सक्दछन् । तर गर्भवती स्त्रीले ३ महिनापछि यो आसन नगर्नू ।
५ मिनेटको पद्मासनले नै मानिसमा अत्यन्त भोक लाग्न थाल्दछ र पेटमा आमविकार भए त्यो पनि नाश हुन्छ । पेटका मांसपेसीलाई भित्रतिर तानी केहीबेर रोक्ने गर्नाले पाचनशक्ति ठिक अवस्थामा आउँदछ । ढाड सिधा राख्नाले मस्तिकमा मासीको बहाव ठीक ढंगले हुने गर्दछ । यसले गर्दा विचार गर्ने शक्ति बढ्दछ । ध्यान मग्न हुनाले यो आसनमा सिद्धि प्राप्त गर्न सहयोग मिल्दछ । (साधनातिर नलाग्ने मानिसले चिउँडो लगेर छातीमा जोड्नु पर्दैन) ।
कूर्मपुराण उपरिविभागको ११औँ अध्यायमा आफ्ना दुवै तिघ्रामाथि दुवै पैँताला राखी बस्नुलाई उत्तम पद्मासन भनिएको छ । त्यसैगरी स्कन्दमहापुराण, काशिखण्डको ४१औँँ अध्यायमा पनि योगका पोख्त व्यक्तिले देब्रे तिघ्रामाथि दाहिने गोडा र दाहिने तिघ्रामाथि देब्रे गोडा राखेर बस्नुलाई पद्मासन भनिन्छ भनेर लेखेको छ ।
बद्धपद्मासन
घेरण्ड संहिताका अनुसार बद्धपद्मासन भनेको बाँया पैँताला दाहिने तिघ्रामाथि र दाहिने पैँताला देब्रे तिघ्रामाथि राखी उल्टो क्रमले ढाडतिरबाट हात लगी दाहिने हातले देब्रतिरको र देब्रे हातले दाहिनेतिरको गोडाको बूढी औँला बलियो गरी समाउनू । चिउँडोलाई छातीमा टँसाएर नाकको टुप्पोलाई हेर्नू । यसको अभ्यास गर्नाले सबै रोग नाश हुन्छन् । यसलाई (बद्ध) पद्मासन भनिन्छ ।
प्रतिक्रिया