संसदको अवरोध खुलाउने विषयमा सिंहदरबारमा जुटेन सहमति

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने विषयमा आज बोलाएको ठूला दलका शीर्ष नेताहरुसँग भएको छलफलमा सहमति जुट्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेपछि सहमति नजुटेको हो ।

सिंहदरबारमा सभामुख घिमिरेले बोलाएको शीर्ष नेतासहितको छलफलमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताएको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउनुपर्ने कुरा कायमै रहेको र त्यो सरकारले समिति बनाउने विश्वास राखेको बताए ।

आफ्नो पार्टीले संसदीय छानविन समितिको कुरा राखेको र सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको राजीनामा नमागेर नै प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने अडान राखेको लेखकले बताए ।

अघिल्लो अधिवेशनदेखि नै गृहमन्त्री लामिछाने समेत सहकारीको बचत अपचलनमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । तर संसदीय समिति बनाउन सत्तारुढ दल तयार नभएपछि संसदको अधिवेशन नै सकिएको थियो । अहिले बजेट अधिवेशन सुरु हुन लागेकाले कांग्रेसले आफ्नो अडान फेरि राखेको हो ।

प्रतिक्रिया