सहकारी प्रकरणमा संसदीय छानविन समिति आवश्यक छैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न कांग्रेसले उठाएको संसदीय छानविन समितिको आवश्यकता नै नभएको निष्कर्ष निकालेको छ ।

आज बसेको संसदीय दलको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न तयार भएपनि व्यक्तिकेन्द्रित गरेर कांग्रेसले गरेको माग अस्वीकार गर्ने निर्णय गरेको हो ।

संसदीय छानविन समितिको माग आफूहरुको नभएकाले त्यसबारेमा थप छलफल नभएको सांसद मनिष झाले बताए । उनले भने, ‘त्यसबारे अहिले सभामुखले बैठक राख्दै हुनुहुन्छ त्यहाँ छलफल होला । आवश्यक छैन भन्ने पार्टी निष्कर्ष हो । हामी पूरै समस्याको समाधान गर्नेगरी जाऔैं भनिरहेका छौं व्यक्तिकेन्द्रित गरेर संसदीय छानविन सम्भव छै्रन । हाम्रो पार्टी सभापतिले सबैकुरा प्रष्ट राखिसक्नुभएको छ । सबै समस्या समाधान गर्न हामी तयार छौं ।’

उनले बैठकमा आगामी बजेट अधिवेशनको तयारीबारे छलफल भएको बताए । गत बजेट अधिवेशनको मुल्यांकन गरेर प्रभावकारी रुपमा उपस्थित हुन पार्टी सभापतिले सांसदहरुलाई निर्देशन दिएको बताए ।

उनले अहिलेको राजनीतिक स्थितीबारे सभापतिले सबैलाई जानकारी गराएको समेत बताए । इलामको उपनिर्वाचनको समीक्षा गर्ने बैठकको एजेण्डा भएपनि आज नभ्याइएकाले अर्को बैठकमा गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया