महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्था गर्छौं : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्थाहरू राख्ने बताएका छन् । महिला उद्यमी महासंघका पदाधिकारी सोमबार मन्त्रालयमा गरेको छलफलमा अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् । मन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताएका थिए । ‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरूले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरू आफैँ आत्मनिर्भर बन्छन् । छोरीहरू आर्थिक रूपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ’, मन्त्री पुनले भने । मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रूपले बलियो हुनुपर्ने अनिवार्य सर्त रहेको उल्लेख गरे । मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गाको रजिस्ट्रेसनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको स्मरण पनि गरे ।

उनले भने, ‘२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ । बाबुआमाले पनि सम्पत्तिको हक राख्ने भएकाले पढाउनुपर्छ छोराछोरी बराबर हो भन्ने धारणाको विकास भएको छ । किनभने छोरी पढायो भने बुहारी पनि पढेकै आउँछ भन्ने लाग्न थालेको छ । यो सम्पत्ति सम्बन्धका कारण भएको परिवर्तन हो । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरूको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन ।’ यो वर्षको बजेटमा हजारौँ छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको उनले बताए । छलफलमा महासंघका अध्यक्ष शोभा ज्ञवाली, डा.माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवद्र्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

प्रतिक्रिया