किन बढ्यो काठमाडौँमा प्रदूषण ?

बढ्दो गर्मीसँगै खडेरी, देशैभर लागेको डढेलो, धुलोयुक्त सडक र राज्य तथा नागरिकको चरम लापरबाहीका कारण देशको संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा सूचीकृत भइरहेको छ

काठमाडौँ । नेपालको संघीय राजधानी काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर पछिल्लो समय उच्च तहमा पुगिरहेको छ । काठमाडौँ पछिल्लो समय विश्वकै प्रदूषित सहरहरूको सूचीमा पहिलो नम्बरमा पर्दै आएको छ । यद्यपि यो क्रममा फेरबदल हुँदै पनि आएको छ । तर, यहाँको प्रदूषणको स्तर ‘ग्रिन’ भने हुन सकेको छैन ।

वायु प्रदूषणको स्तर मापक सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ अनुसार बिहीबार काठमाडौँको वायु गुणस्तर (एक्युआई) १६२ पुगेको छ । सुख्खायामसँगै बढेको खडेरी, तापक्रम वृद्धि र त्यसका कारण देशका अधिकांश भागमा लागेको डढेलोका कारण नेपालको वायु प्रदूषित बनेको मौसमविद्हरू बताउँछन् ।

काठमाडौँमा बढेको प्रदूषणका कारण केही दिनअघि स्वास्थ्य मन्त्रालयले सूचना नै जारी गरेर काम नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोधसमेत गरेको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेलो लागिरहेको छ । जबकि बुधबार ३९ जिल्लाका १६५ स्थानका वनमा डढेलो लागेको थियो । बिहीबार एकै दिनमा सबै जिल्लामा गरी २७१ स्थानमा डढेलो सल्किएको छ ।

डढेलोविद् सुन्दर शर्माका अनुसार मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलोका कारण वायु प्रदूषण बढाउनमा मुख्य भूमिका खेलेको छ । उनी भन्छन्, ‘वनमा लागिरहेको डढेलोका कारण अहिले वायु प्रदूषण बढेर काठमाडौँलगायत मुख्य सहरको हावा अस्वस्थ बनेको छ । अझै केही दिन खडेरी लम्बिएर ठुलो पानी नपर्ने हो भने वायु प्रदूषणको स्तर अझ खतरनाक तहमा पुग्ने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि तत्कालका लागि डढेलो निभाउने गरी र प्रदूषित हावा सफा गर्ने गरी पानी पर्ने सम्भावना नरहेको जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार देशका केही ठाउँमा सामान्य वर्षको सम्भावना देखिए पनि ठुलो वर्षाको सम्भावना देखिएको छैन ।
डढेलोका कारण आएको धुवाँ र खडेरीका कारण बढेको धुलोका कारण हावालाई धेरै प्रदूषित बनाएको छ । यदि ठुलो वर्षा भएको अवस्थामा वनमा लागेको आगो पनि नियन्त्रणमा आउने र पानीमा भएका धुलोका कण पनि बगाएर हावा सफा बनाउने भएकाले प्रदूषणको स्तर घटाउन ठुलो वर्षा हुनैपर्ने मौसमविद् बताउँछन् ।

वायु प्रदूषण बढाउने अन्य कारणमा काठमाडौँमा बढ्दो जनघनत्व, सडकमा जथाभावी फोहोर फाल्ने र जलाउने प्रवृत्ति, खाल्डाखुल्डी र धुलोयुक्त सडक पनि हुन् । धुलोयुक्त सडकमा तीव्र गतिमा सवारीसाधन हुइँकिँदा सडकको धुलो वायुमण्डलमा पुग्ने भएकाले पनि प्रदूषण फैलिरहेको जानकारहरू बताउँछन् ।

वायु प्रदूषण बढाउनुमा प्राकृतिक कारणभन्दा राज्य र नागरिकको चरम लापरबाही मुख्य कारक रहेको सरोकारवालाको भनाइ छ ।

बढ्दो वन डढेलोका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपतकालीन अवस्थामा पुग्ने वातावरण अभियन्ता राजन थापा बताउँछन् । काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई मान ३०० भन्दा बढी पुगेमा विपद्का रूपमा लिने बताएको छ ।

यो विपद् रोक्नका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि एक्युआई ५० सम्म स्तर भएको वायुलाई राम्रो मानिन्छ । गुणस्तर मापकले यसलाई ग्रिन सिग्नल दिएको छ । यस्तै, ५१ देखि १०० सम्मको एक्युआईलाई कम प्रदूषण भए पनि सजग रहनुपर्ने अथवा पहेँलो संकेतले चिनिन्छ । १५० सम्म एक्युआई भएको वायुले श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भने १५१ देखि २०० सम्मको एक्युआईले सबैलाई असर गर्न सक्ने बताइन्छ ।

यदि वायु प्रदूषणको स्तर २०१ देखि ३०० सय पुग्यो भने धेरै अस्वस्थ, ४०० सम्मलाई खतरनाक र ५०० सम्मलाई धरै खतरनाक मानिएको उप्रेती बताउँछन् ।

बिहीबारको तथ्यांकअनुसार दोस्रो प्रदूषित सहरका रूपमा थाइल्याडको चियाङ माई सहर छ भने तेस्रोमा इन्डोनेसियाको मेदान सूचीकृत छ । यो सूचीमा सूचीकृत भएका १०० सहरमध्ये सबैभन्दा सफा सहरका रूपमा सर्बियाको बेलग्रेड छ ।

यहाँको वायु प्रदूषणको स्तर जम्मा २१ एक्युआई छ । यद्यपि बिहीबार अपराह्नसम्म आइपुग्दा भने काठमाडौँको प्रदूषणको स्तर १५० मा झरेको छ । यो समाचार तयार पार्दासम्म प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा भारतको कलकत्ता छ । यहाँको एक्युआई १६४ देखिएको छ ।

प्रतिक्रिया