मधेसमा आएका प्रशासकले लुट्ने काम मात्र गरेः मुख्यमन्त्री यादव

बारा । साउनदेखि बाराको पथलैयाबाटै रुटपरमिट, जाँच र नबिकरण लगाएतको सेवा सुरु हुने भएको छ । तराई यातायात व्यवसायी संघको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यातायात व्यवसायीको सहजताको लागि साउनदेखि पथलैयाबाटै रुटपरमिट जाँच र नबिकरण लगाएतको सेवा प्रदान गर्ने प्रतिबद्धता गरेका हुन् ।

त्यस्तै, मुख्यमन्त्री यादवले अर्को प्रशंगमा बोल्दै मधेस प्रदेशमा आएका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र संघका कर्मचारीले मधेस प्रदेशमा लुट्ने र खाने काम मात्र गरेको आरोप लगाए । सबैभन्दा बढी बदमासी प्रशासनबाट हुने गरेको उनले बताए ।

‘संघीय सरकारले पठाएका कर्मचारीले मधेसमा पैसा लुट्ने र खाने काम मात्र गर्छन, जनतालाई भने सेवा दिँदैनन्,’ मुख्यमन्त्री यादवले भने । यहाँका जनताको सरकार भनेको मधेस प्रदेश सरकार रहेको हुदाँ यहाँका जनताको विकासका निम्ती मधेस सरकारलाई सहयोग गर्नुपर्ने उनले बताए । उनले केन्द्रका प्रतिनिधीले मधेस सरकारलाई उपेक्षा गर्नेगरेको आरोप लगाए ।

देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने र संघीयता ल्याउनसमेत मधेसको महत्वपूर्ण भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने उनले बताए । मधेसले अधिकार बिनाको संघीयता अपनाउनु परेको भन्दै उनले गुनासो समेत गरे ।

तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद किसान श्रेष्ठ, अच्युत मैनाली, मधेस प्रदेशको यातयात मन्त्री बेची लुइङ्गेली, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोलाप्रसाद अधिकारी लगाएतले शुभकामना दिएका थिए ।

तराई यातायात व्यवसायी संघको १७ औं बार्षिक साधारणसभामा बोल्दै ट्रक यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले भारतीय गाडीको बिगबिगिको कारण नेपालका यातयात व्यवसायीहरु समस्यामा परेको बताए । ट्राफिकले बेलाबेलामा अनावश्यक दुःख दिने गरेको कारण यातयात व्यवसायी संकटमा परेको र यस्ता समस्यालाई समाधान गर्नको लागि संघीय सांसद र प्रदेशका मुख्यमन्त्रीको ध्यानआकर्षण हुनु आवश्यक रहेको उनले बताए ।

देशभित्र मालसामान ओसारपसार तथा राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्ममा ढुवानीका लागि प्रयोग हुँदै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पर्ने गरेको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया