कार्यवाहक मेयरको कारण नगरपालिका बन्धक भएको भन्दै प्रदर्शन

रौतहट । जिल्लाको फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक नगरप्रमुखले नगरपालिकालाई बन्धक बनाएको भन्दै निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूले बुधबार प्रदर्शन गरेका छन् ।
पटकपटक प्रमुख प्रशासकीय अधिकृत फेरिँदै आएका फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले करिब १ वर्षदेखि तलब भत्ता खान पाएका छैनन् । समयमा कर्मचारीको तलब भत्ता दिनुपर्ने, सामाजिक सुरक्षाको रकम वितरण गर्नपर्ने लगायतका माग राख्दै जनप्रतिनिधि तथा कर्मचारीले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

भ्रष्टाचारको अभियोगमा निर्वाचित नगरप्रमुख गोपाल यादव निलम्बन भएपछि कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएकी उपप्रमुख अम्बया खातुनको कारण नगरपालिका अहिलेसम्म बन्धक भएको आरोप वडा अध्यक्ष पपु यादव भन्ने राकेश यादवको रहेको छ ।
निमित प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवलाइ हटाएर उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गराई नगरसभा सम्पन्न गरेकी कार्यवाहक नगरप्रमुख खातुनले अहिले प्रधानलाइ हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई हाजिर गराएकी छन् ।

पाल हाजिर हुन आउँदा रोकिएको कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता तथा विद्युत्को बाँकी बक्यौता तिर्ने भएको सहमति कार्यान्वयन नहुँदा बाध्य भएर विरोधमा उत्रिएको वडा अध्यक्ष यादवको भनाइ छ ।

कार्यवाहक नगरप्रमुख खातुनले कर्मचारीको तलब, विद्युत् महसुलको भुक्तानीका लागि अनुमति दिएको जिकिर गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल नविन यादवले झुक्याएर बजेट सञ्चालन गराउन रेडबुक तयार गरेकोले प्रशासकीय अधिकृत फेरिएको र लेखापालको काज फिर्ता गराइएको बताइएको छ ।

एक अर्काप्रतिको शंका उपशंका कारण अनिर्णयको बन्दी बनेका फतुवा विजयपुर नगरपालिकामा कार्यरत कर्मचारी सबैभन्दा पीडामा परेको हुँदा शिक्षा, स्वास्थ्यलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको तलब समयमा उपलब्ध गराई आर्थिक वर्षको बजेट कार्यन्वयनतर्फ जिम्मेवार जनप्रतिनिधिले ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया