गर्मी बढेसँगै बढ्यो भारतीय खरबुजाको बिक्री

मधेस ब्युरो । गर्मी बढेसँगै मधेसमा खरबुजा, काँक्रो तथा भुइँकटहरको माग बढेको छ । स्वास्थ्यका लागि फाइदा हुने तथा स्वास्थ्यबाट बच्न रसिलो फलफूलको माग बजारमा बढेको हो । शरीरलाई शीतलता प्रदान गर्ने काँक्रो, खरबुजा तथा भुइँकटहर लगायतका फलफूल भारतीय बजारबाट आएको पाइएको छ । मधेस प्रदेशमा जताततै पाइने भए पनि अधिकांश खरबुजा बिहार र अन्य प्रान्तबाट आएको पाइएको छ । गर्मीकै अनुपातमा खरबुजा, काँक्रो र भुइँकटरको माग बढेको व्यावसायीहरू बताउँछन् ।

बाराको निजगढस्थित सहिद चोकमा ठेलामा फलफूलको व्यापार गर्नेले व्यवसायीले खरबुजा र भुइँकटहर भारतबाट आइरहेको बताए । खरबुजा भारतको बिहार र अन्य प्रान्तबाट आइरहेको व्यवसायीको भनाइ छ । यसैगरी भुइँकटहर सिलीगुडी र दार्जिलिङतिरबाट आइरहेको व्यावसायीको भनाइ छ । बजारमा छ्याप्छयाप्ती पाइने खरबुजामा करिब भारतीय उत्पादनको एकाधिकार रहेको व्यावसायीहरू बताउँछन् ।

भारतीय खरबुजाको भित्री गुदी रातो बढी हुने, रसिलो तथा स्वादिलो बढी हुनाले उपभोक्ताको रोजाइमा पनि भारतीय खरबुजा नै रहेको जनकपुरका व्यावसायीहरू बताउँछन् । नेपाली खरबुजाको भित्री गुदी रातोभन्दा केही सेतो हुने गरेको र तुलनात्मक रूपमा कम गुलियो हुनाले भारतीय खरबुजा नै ग्राहकको पहिलो रोजाइ हुने गरेको व्यावसायीहरू बताउँछन् ।

आवश्यकताभन्दा ज्यादै न्यून उत्पादन काँक्रोको भइरहेकोले काँक्रोको अधिकांश भाग भारत बिहारबाट आउने गरेको छ । गर्मीमा अत्यन्त धेरै खपत हुने कांक्रोको मूल्य पनि आपूर्तिमा निर्भर हुने गरेको पाइएको छ ।

सीमा क्षेत्रका नेपाली बजारमा खरबुजा प्रतिक्रिलो ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म पाइन्छ भने पूर्व–पश्चिम राजमार्गमा ६० रुपैयाँ प्रतिकिलो खरबुजाको मूल्य रहेको छ । काँक्रो एकदिनमै सुक्ने हुनाले बजारमा हरियो काँक्रो २० रुपैयाँ किलोदेखि ४० रुपैयाँ किलोसम्म पाउने गरिएको छ । पूर्वी नेपालबाट भित्रिइरहेको भुइँकटहर भने प्रतिगोटा २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

शरीरमा पानीको आपूर्ति पूरा गर्ने तथा विभिन्न गर्मीजन्य रोगबाट बचाउने खरबुजा, काँक्रो र भुइँकटहरको व्यापार निकै बढेको व्यावसायीहरू बताउँछन् । रौतहटको कटहरियाका एक व्यावसायीले भने, ‘गत २ हप्तामा खरबुजाको माग दुई गुनाले मूल्य पनि एक चौथाइले बढेको छ ।’ यस्तै कटहरियाका नसिरुद्दीन अन्सारीले भने, ‘हरियो तरकारीको मूल्य बढेसँगै खरबुजा र काँक्रोको मूल्य पनि बढेको छ ।

पहिले बिरलै देखिने काँचो नरिवल अहिले बजारमा छ्याप्छ्याप्ती पाउन थालिएको छ । दक्षिण भारतबाट आउने नरिवलको पानी पिउने चलन मधेस प्रदेशमा बढिरहेको छ । गर्मी लागेसँगै प्रतिगोटा डेढ सयदेखि २ सय रुपैयाँमा नरिवलको पानी पिउने क्रम पनि बढेको छ ।

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–५ पेठिया बजारमा तरबुजाले बिक्री वितरण गर्नेहरू भिडभाड देखिन्छ । त्यहाँ हप्ताको दुई दिन लाग्ने हाट अब प्रतिदिन लाग्न थालेको छ ।
सरकारले विद्युतीय सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा राम्रो उत्पादन हुने जमिन पर्याप्त भए पनि किसानले काँक्रो, खरबुजा खेतीतिर किसान आकर्षित हुन सकेका छैनन् । खरबुजा, काँक्रो, नरिवल तथा भुइँकटहरमा हरेक दिन लाखौँ रुपैयाँ बाहिरिएको टिप्पणी बुद्धिजीवीहरूले गरेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया