दुहवीमा साप्ताहिक हाटबजार सुरु

????????????????????????????????????

जनकपुर । धनुषाको दुहवीमा विवादका लामो समयदेखि बन्दरहेको हाटबजार सञ्चालनमा आएको छ । विदेह नगरपालिका–२ स्थित दुहवी गोवराही चोकमा बन्द रहेको साप्ताहिक हाटबजार सञ्चालनमा आएको सो नगरपालिकाका प्रमुख वेचन दासले जानकारी दिए ।

स्थानीयबीचको विवादका कारण हाटबजार २०७६ सालदेखि बन्द थियो । हाटबजार बन्द भएको कारणले त्यहाँका बासिन्दालाई आफ्नो उत्पादित सामान खरिद बिक्रीका लागि टाढाका बजार जानुपर्ने बाध्यता थियो । हाटबजार सञ्चालनमा आएपछि स्थानीयलाई सामग्री विक्रीवितरण गर्न सजिलो भएको छ ।

हाटबजार आइतबार, बुधबार तथा शुक्रबार गरी तीनदिन सञ्चालन हुने बताइएको छ । पहिला पनि तीन दिन नै हाटबजार लाग्ने गरेको थियो । विदेह नगरपालिकाका कार्यपालिका सदस्य सत्रुधन रायका अनुसार चारवर्ष अगाडि हाटबजार लाग्न छाडेपछि स्थानीयलाई धेरै समस्या परेको थियो ।

हाटबजार सञ्चालनका लागि विदेह नगरपालिका पदाधिकरीले विवादित विषयमा सम्बन्धित निकायसँग छलफल पश्चात हाटबजार सुरु गरिएको उनले जानकारी दिए । नगरप्रमुख दासले हाटबजार सञ्चालनले स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिकरुपले सवल र आत्मनिर्भर हुने बताए ।

हप्तामा तीनदिन लाग्ने सो बजारमा भारतीय व्यवसायीसमेत आफनो उत्पादित सामग्री खरिद बिक्रीका लागि आउने गरेको थियो । यो हाटबजारले नगरपालिकासमेतलाई आम्दानी हुने बताइएको छ ।

प्रतिक्रिया