शहीदनगरमा झडप, प्रहरीसहित तीन घाइते

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुखविरुद्ध वडाध्यक्षको नेतृत्वमा स्थानीयले गरेको प्रदर्शनमा दुई प्रहरी र एक कार्यालय सहयोगीसहित तीनजना घाइते भएका छन् । शहिदनगर नगरपालिका –६ का वडाध्यक्ष उमेश कुमार निरालाको नेतृत्वमा गएका प्रदर्शनकारी टोलीले नगरपालिका कार्यालयमा तोडफोड गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

झडपलाई नियन्त्रण गर्न पुगेका सशस्त्र प्रहरीका सहायक हबल्दार र एक नेपाल प्रहरीका कर्मचारी घाईते भएका छन् । प्रदर्शनकारीहरुले गरेको प्रहारमा ईटाको टुक्रा लागेर ती प्रहरी र कार्यालय सहयोगी मञ्जु महरा महरा घाइते भएको जनाइएको छ । प्रदर्शनकारीले गरेको ढुंगामुढाले मेयर दिनेश प्रसाद यादवको गाडीको सीसा फुटेर समेत क्षति भएको बताइएको छ ।

दर्जनौँको सख्यामा रहेका प्रदर्शनकारीको भीडलाई नियन्त्रण गर्न प्रहरीले एक सेल आश्रुग्यास प्रहार समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसैबीच प्रहरीले वडाध्यक्ष निरालालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिएका छन् ।

नगर प्रमुख दिनेश प्रसाद यादवसहित केही कर्मचारी र जनप्रतिनीधिहरुले बेतिथि निम्त्याउँदै एकलौटी गरेको भन्दै प्रदर्शनमा उत्रिनु परेको वडाअध्यक्ष निरालाका समर्थकहरुले जनाएको छ । उनीहरुले विगतमा हटाइएका बालविकास शिक्षक कर्मचारीलाई पुनः भर्ना गर, शिक्षा शाखा अधिकृत विश्वनाथ यादवलाई अविलम्ब हटाउ र करारमा भर्ना गरिएका कर्मचारी हटाउन सहितका माग राखेर प्रदर्शनमा उत्रेका थिए ।

यता नगरप्रमुख यादवले विगतमा फर्जी देखिएका बालविकास शिक्षक कर्मचारीलाई वडाध्यक्ष निरालाकै जोडबलमा कार्यपालिका बोर्डको बहुमतीय निर्णयबाट हटाइएको हो । शिक्षा शाखा अधिकृतलाई बिना कुनै गलतीको कसैले भन्दैमा हटाउन मिल्दैन र जहाँसम्म करार कर्मचारी हटाउने कुरा हो त्यो विज्ञापन गरेर प्रतिष्पर्धाका आधारमा नियुक्त गरिएको त्यसलाई कसरी हटाउन मिल्छ भने ।

नगरप्रमुख यादवले वडाध्यक्ष निरालाले उठाएको हरेक माग आफ्नो व्यक्तिगत निर्णयबाट नभई कार्यपालिका बोर्डको बहुमत सदस्याट गरिएको हो । जसमा वडाध्यक्ष निरालाको समेत हस्ताक्षर रहेको अहिले आएर राजनीतिक प्रतिशोध साध्न प्रदर्शनमा उत्रेको हो बताए ।

प्रतिक्रिया