कर्णालीमा मिल्यो भागबन्डा, भोलि विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोलि बिहीबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले मंगलबार प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको जानकारी दिए । उनका अनुसार सत्ता गठबन्धनमा मन्त्रालयको टुंगोसमेत लागिसकेको छ ।

यसअघि एमाले र माओवादीबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार विस्तारमा सकस भएको थियो । एमाले र माओवादीबीच मंगलबार मन्त्रालय भागबन्डाको सहमति जुटेसँगै बुधबार माओवादीबाट मन्त्रीले शपथ लिने माओवादीका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।

मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालय रहेको कर्णालीमा माओवादीले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास गरी ४ वटा मन्त्रालय पाएको छ । यस्तै, नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि, व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन गरी ३ वटा मन्त्रालय लिने सहमति भएको छ ।

यद्यपि दुवै दलले मन्त्रीको नाम भने टुंग्याएका छैनन । माओवादीले मन्त्रीको नाम दिएमा बुधबार शपथ गराउने र एमालेका मन्त्रीलाई भने विश्वासको मतपछि शपथ गराउने तयारी मुख्यमन्त्रीको छ ।

माओवादीभित्र यसअघिकै मन्त्रीलाई दोहोर्याउने कि नयाँलाई पठाउने भन्ने टुंगो हुन बाँकी रहेको प्रमुख सचेतक परियारले बताए । यसअघि अन्य मन्त्रालयमा सहमति जुटे पनि सामाजिक मन्त्रालयमा कुरा नमल्दिा सरकार विस्तारमा सकस परेको थियो ।

प्रतिक्रिया