कतारका राजा शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता सकेर सोल्टी होटेलमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका (राजा) अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । आज अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए ।

शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न थिए । उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल भएको शीतल निवासले जनाएको छ । अहिले अमिर थानी भेटवार्ता सकेर सोल्टी होटेल गइसकेका छन् ।

कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीलत निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए ।

अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रि भोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि (बुधबार) द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौं आएका हुन् ।

प्रतिक्रिया