लोकतन्त्रको उपहार धुलो र बेरोजगार

बारा । कानुनी रूपमा लोकतन्त्र आएको करीब दुई दशक पुग्न लाग्यो । धेरै स्थानको मुहार लोकतन्त्रको बहाली पछि फेरिएको छ । गाउँ गाउँमा कालोपत्रे सडक पुगेको छ । कतिपय स्थानमा कालोपत्रे सडक पुग्ने क्रममा छ । यो लोकतन्त्रको राम्रो पक्ष हो । लोकतन्त्रकै कारण स्थानीय सरकार अधिकार सम्पन्न बनेको छ । लोकतन्त्रले नै देशमा तीन तहको सरकारको संरचना निर्माण ग¥यो र अहिले यही संरचनाको आधारमा देश चलायमान अवस्थामा छ । देशमा लोकतन्त्रको बहालीको फाइदा विभिन्न राजनीतिक दलका नेता तथा तीनका कार्यकर्ताले मात्र लिन सकेका छन् । बाँकी करदाता जनताले त लोकतन्त्रको पूर्ण प्रत्याभूति अहिले पनि गर्न पाएका छैनन् ।

तीन वटै सरकारमा समन्वयकारी भूमिकाको अभाव हुँदा आमजनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको कलैया–१ का प्रविण सिग्देलको बुझाइ छ । ‘जनताले कर मात्र तिरेका छन्, तर कर तिरेवापत सरकारबाट पाउने सुविधाको अनुभूति गर्न पाएका छैनन्’, उनले भने, ‘जनताले तिरेको करमा नेता तथा तिनका कार्यकर्ताको रजाइँ छ ।’ यसको ज्वलन्त उदाहरण कलैयाको मुहारलाई नै कुरूप बनाउने कलैया मदिन टोलदेखि शीतलपुरसम्मको बाटो धुलाम्य बनेको छ ।

कलैयाका जनताले कर तिरेका छैनन् र ? वर्षौंदेखि अलपत्र रहेको यो बाटो अहिलेसम्म किन बन्न सकेन यहाँका जनाले प्रश्न गरिरहेका छन् । कलैयावासीले धुलो खानकै लागि कर तिरिरहेका छन् त ? कहाँ गयो कलैयावासीले लोकतन्त्रका लागि गरेको आन्दोलनको प्रतिफल ? यसरी नै सरकारी चारपांग्रे गाडीमा चढेका नेताले दिनहुँ धुलो उडाएर स्थानीयलाई सास्ती दिने गरेको उनले बताए ।
जनताले तिरेको करबाट खरिद भएको गाडी, इन्धनमा रमाउँदै नेताहरू कलैयावासीलाई झन्डै अढाई दशकदेखि धुलोको स्वाद चखाइरहेका छन् । सडकमा सवारी साधनले उडाएको धुलोकै कारण स्थानीय वासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको कलैया देवकोटा चोकमा सैलुन सञ्चालन गरेका सुरेश ठाकुरले बताए ।

करिब ३ दशक बढीदेखि कलैयाको देवकोटा चोकमा सैलुन पसल सञ्चालन गर्दै आएका सुरेशले सरकारी संयन्त्रको चरम लापरवाहीकै कारण सर्वसाधारण पीडित बनेको बताए ।
‘चाँडै नै यो सडक बन्ने आश्वासन नेताले भाषणमा दिन्छन्, तर व्यवहारमा भाषण कहिल्यै लागू हुँदैन’, उनले भने, ‘बाटो बनिरहेको वर्षौं बित्यो तर सडकको धुलो र खाल्डाखुल्डी अझै हटेको छैन ।’ के कारणले अहिलेसम्म यो सडक नबनेको हो आफूलाई जानकारी नभएको उनले बताए ।

‘लोकतन्त्र हामी जनताका लागि होइन, नेताकै लागि आएको हो । हामी जनताले लोकतन्त्रको अनुभूति गर्न पाएका छैनौँ’, उनले भने, ‘लोकतन्त्रको नाममा निर्वाचित जनप्रतिनिधि तथा तिनका मतियार, प्रहरी प्रशासनले जनता माथि क्रूर शासन गरिरहेका छन् ।’ आमजनताका सन्तानले उचित शिक्षा, सहज उपचार सेवा, आवतजावत गर्न व्यवस्थित सडक पाउन नसकेको उनले बताए ।
त्यति मात्र होइन, लोकतन्त्रमा आमजनता भ्रष्ट नेता तथा कर्मचारीको विरुद्धमा खुलेर विरोध गर्न पनि डराउँछन् । विरोध गर्दा झुठा मुद्दामा फसाउने, पुरानो दम्भ नेता तथा प्रहरी प्रशासनका कर्मचारीको व्यवहारबाट हटेको छैन । लोकतन्त्रको बहालीपछि विकास निर्माणको गतिमा सुस्तता आएको छ । चलायमान उद्योगधन्दा बन्द भएका छन् । सरकारी सम्पती निजीकरण हुने क्रम बढेको छ । युवाहरू बेरोजगार हुन थालेका छन् । रोजगार पाएका युवाहरूको जागिर खोस्ने कामसमेत तीव्र रूपमा बढेको अर्का स्थानीय जवाहीर मण्डलले बताए ।

देशमा बेरोजगारी समस्या बढेकै कारण धेरै युवा रोजगारीको लागि खाडीमुलुक जान वाध्य छन् । उनीहरूलाई लोकतन्त्रले संरक्षण गर्न सकेको छैन । देशमै रोजगारी दिने माहौल बनाउन सकेको छैन । रोजगारीमा गएका युवाहरू विदेशमै ज्यान गुमाउँदै छन् । जनताले अनुभूति गर्न नपाएको लोकतन्त्रलाई उच्च ओहोदाका कर्मचारी तथा नेताले पोको पारेर आफ्नो टोकरीमा नियन्त्रण गरेको आमनागरिकको बुझाइ छ ।

प्रतिक्रिया