गर्मीसँगै बढ्यो आगोको कहर

घरभित्रको गहना बचाउन खोज्दा बचिनन् बुदी

काठमाडौँ । गर्मी बढेसँगै आगलागीका घटनामा वृद्धि भएको छ । शनिबारदेखि आइतबारसम्ममा देशभर १३८ सामुदायिक वन र विभिन्न जिल्लामा गरी सयभन्दा भन्दा बढी घर जलेर खरानी भएका छन् भने १ वृद्धाको मृत्यु भएको छ । कतै वनको आगोले घर सल्किएका छन् भने कतै बिँडी, चुरोट खाँदा उम्किएर आगलागी भएका छन् । आगलागीका कारण अर्बौंको क्षति भएकोे छ ।

रुकुम पश्चिममा भएको आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको हो । आइतबार दिउँसो बाँफीकोट गाउँपालिका–३ दारकाट्यामा ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो ।

बाँफीकोट–३ का वडाध्यक्ष तिलवीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले ६ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट भएको भौतिक क्षतिको विवरण भने संकलन हुन बाँकी छ ।

कैलालीमा १० बिघाको गहुँ नष्ट

कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–६ का १५ किसान परिवारको १० बिघा गहुँ खेतमा आगलागी हुँदा बाली जलेर नष्ट भएको छ । जोशीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बाली काटेर खेतमा सुकाइराखेको अवस्थामा शनिबार आगलागी भएको जानकारी दिए ।

प्रहरी र स्थानीयबासीको प्रयासमा आगो निभाउने प्रयास गरिएको थियो । जोशीपुरकै एक किसानको १३ कठ्ठा क्षेत्रफलको गहुँबालीमा पनि २ दिनअघि आगलागी भएको थियो । भजनी, बर्दगोरियालगायत क्षेत्रको गहँुबालीमा पनि आगलागी भएको छ । आगलागीबाट पुगेको क्षतिको थप विवरण आउन बाँकी छ ।

केही दिनदेखि गर्मी बढेसँगै मध्याह्नको समयमा चल्ने हावाहुरीका कारण आगलागीका घटना बढाउन मद्दत पु¥याइरहेको स्थानीयबासीले बताएका छन् ।

गहुँ काटेर खाली रहेको खेत (गहुँको नलमा) मा पनि आगलागी भइरहेको छ । गहुँबाली काटेर खाली भएको खेतमा लागेको आगो निभाउने क्रममा गौरीगंगा नगरपालिकाका वीरबहादुर साहु जलेर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गर्मीसँगै वन क्षेत्रमा पनि डढेलो लाग्ने घटना बढेका छन् । अग्नि नियन्त्रण रेखा बनाएर डढेलो रोकथामको प्रयास गरिए पनि पूर्ण रूपमा डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ ।

४ दिनअघि ३७ दशमलव ४ डिग्रि सेल्सियस रहेको धनगढीको अधिकतम तापक्रम बढेर शुक्रबार ४० दशमलव ६ डिग्री सेल्सियस पुगको थियो । यस्तै २० डिग्री सेल्सियस न्यूनतम तापक्रम बढेर २२ दशमलव ६ डिग्री पुगेको थियो । आइतबार तापक्रम अघिल्ला २ दिनको भन्दा केही कम मापन भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए ।

बाँकेका ६३ सामुदायिक वनमा डढेलो

बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको छ । डढेलोका कारण वनमा ठुलो धनजनको क्षति नभए पनि जीवजन्तु संकटमा परेको शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुुशील सुवेदीले जानकारी दिए । खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको छ । वन अधिकृत सुवेदीले अहिलेसम्म जिल्लाका ६३ सामुदायिक वनको १०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको जानकारी दिए ।

उनले दिउँसो घाम र तातो हावा चलेकाले शनिबार राति मात्रै डढेलो नियन्त्रणमा लिइएको बताए । उनले चक्ला वन क्षेत्रको ५०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गत वर्षभन्दा यस वर्ष धेरै सुख्खा भएकाले डढेलो फैलिएको बताए । डढेलो लागेको वनमा ७०० लिटर क्षमताको ट्यांकी भएको पाइपसहितको गाडीमार्फत् पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै वन अधिकृत सुवेदीले अग्नि हेरालु ८ जना परिचालन भएको उल्लेख गरे ।

‘फायरलाइन बनाउने र त्यसलाई सफा गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने र समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौँ,’ उनले भने । शनिबार मात्रै भएको आगलागी नियन्त्रणमा लिन एउटा दमकलको प्रयोग हुनुका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग लिनुपरेको बताइएको छ । शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी–२ को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समयभवानी सामुदायिक वन उपभोक्ता समिति र कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो ।

‘निकुञ्जको उत्तरतर्फबाट लागेको आगो अहिले दक्षिणतर्फ सल्केको छ,’ सुवेदीले भने । उनका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायत जनावर विस्थापित भएका छन् ।

म्याग्दीमा गाउँ पसे जनावर

म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहारा अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका हुन् ।

‘खेतबारीमा लगाएको बाली र तरकारी खेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मंगला–५ का किसान टीकानाथ कँडेलले भने । कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन, घरभित्रै छिर्न थालेका छन् ।

मालिकाको वडा–६ उपल्लो दुखु, वडा–१ निस्कोट र वडा–२ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती बेहोर्नुपरिरहेको छ । मालिका–६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्छिन्, ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।’

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरासमेत खाइदिन थालेको उनले बताइन् । खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । वन्यजन्तुले बस्तीबस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।

वन क्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जंगलमा डढेलो लागेपछि बेँसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मंगला–५ छिस्वाङका निकेश पुनले बताए । डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती पसेको स्थानीय किसानले बताएका छन् ।

रूपन्देहीका ९ गाउँमा आगलागी

तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुख्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।

रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न ९ वटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा विष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ ।

आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उनले बताए । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियोे । आगलागीको घटना जिल्लाभरिबाट नै भएका प्रवक्ता भट्ट बताउँछन् । गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ ।

यसबाहेक मधेसका विभिन्न जिल्लाका साथै गुल्मीमासमेत आइतबार आगलागिका घटना सार्वजनिक भएका छन् । बर्सेनि सुख्खा मौसममा आगलागीका घटना हुने भए पनि सम्बन्धित निकाय आवश्यक पूर्वतयारीमा नरहने गरेको पाइएको छ ।

प्रतिक्रिया