भलुवहियामा आगलागी हुँदा चार घर जलेर खरानी

१० बिघा बढी खेतको गहुँबाली जलेर नष्ट

पर्सा । पर्साको सीमावर्ती छिपहरमाई गाउँपालिका–१ भलुवहियामा शनिबार दिउँसो आगलागी हुँदा चार घर जलेर खरानी बनेका छन् । साथै आगलागीबाट करिब १० बिघा बढी खेतमा लगएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रण गर्न घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार भारतीय एक महिलाले खेतमा गहँु काटेर खाली रहेको ठाउँमा गहुँको ठुटा जलाउने लगाएको आगो अधिक हावाहुरीका कारण अनियन्त्रित नभई फैलिएर नेपालको भलुवहिया गाउँमा लागेको हो । आगो नियन्त्रण बाहिर गए पछि ती महिला भागेको प्रहरीको भनाइ छ ।

आगलागीले भलुवहियाका मनवोध यादवको कुखुरा फर्ममा भएका कुखुराको चला जलेर नष्ट भएको छ । साथै आगलागीमा परी वीरेन्द्र यादव, विशनुदेव हजरा, मुकेश यादव लगायतका चार घर जलेर लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

यसका साथै दर्जनौँ किसानको गहुँबालीसमेत जलेर नष्ट भएको छ । आगलागीमा परी मुनिलाल राउत अहउरका २५ कठा, ताराचन साह तेलीको १५ कठा, अर्जुन यादवको १२ कठामा लगाएको गहुँबाली जलेर नष्ठ भएको छ । मिर्जापुरको प्रहरी टोलीले घटनाको छानविन गरी क्षतिको विवरण संकलन गरेको छ ।

प्रतिक्रिया