वंशवाद अन्त्यका लागि कांग्रेसलाई जिताउनुहोस् : महामन्त्री थापा

इलाम । नेपाली कांग्रेसमा महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले वंशवाद अन्त्य गर्नका लागि कांग्रेसलाई जिताउन अपिल गरेका छन् । शनिबार इलाम सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको वंशवाद अन्त्यका लागि कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्कालाई जिताउन अपिल गरेका हुन् ।

आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्दै थापाले स्वर्गीय सुवासचन्द्र नेम्बाङका पुत्र सुहाङलाई चुनावी मैदानमा उतारेको प्रति कटाक्ष गर्दै इलामे जनताले वंशवादलाई सधैंका लागि अन्त्य गर्ने दिन आएको बताए ।

‘हामीले एउटा वंशवादलाई अन्त्य गरेर अर्को वंशवादलाई प्रसय दिनु हुँदैन, इलामे जनताले वंशवादको अन्त्य गर्ने उचित समय आएको छ,’ थापाले भने, ‘लोकतन्त्रको रक्षाका लागि समेत कांग्रेसका उम्मेद्वारलाई जिताउनुहोस् ।’ महामन्त्री थापाले इलामको समस्या समाधानका लागि खड्कालाई प्रतिनिधि बनाएर पठाउन आग्रह गर्ने समस्या समाधान गर्ने जिम्मा आफूले लिने उद्घोष गरे ।

यसैबीच महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धन आगामी माघसम्म पनि नटिक्ने दावी गरे । ‘हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसम्म सँगै रहन चाहन्थ्यौँ, तर हाम् चाहनाले भएन,’ उनले भने, ‘यो गठबन्धन स्वार्थकेन्द्रित गठबन्धन हो, यो २०८१ माघसम्म पनि टिक्न सक्दैन ।’ चुनावअघिको गठबन्धन मतदातालाई धोका र बेइमानी भएको बताए ।

यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता कार्यकर्तालाई निर्मम कारवाही गरिने बताएका छन् ।
इलामको फाककफोमथुम गाउँपालिकास्थित आमोचकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो कोहीलाई कडा कारवाही गरिने बताए ।

प्रतिक्रिया