पर्यटक लोभ्याउन सहिद स्मारकमा झिलिमिली

हेटौँडा । हेटौँडा–११ स्थित सहिद स्मारकलाई रात्रीकालीन पर्यटनका लागि खुला गरिएसँगै आन्तरिक पर्यटकको चाप बढेको छ । तर, वनक्षेत्रमा रहेको सहिद स्मारकमा झकिझकाउ हुने गरी जोडिएका बत्ती र रात्री पर्यटनप्रति पर्यावरणसम्बद्ध व्यक्तिहरूले भने चिन्ता प्रकट गरेका छन् ।

सहिद स्मारक विकास समितिले रात्रीकालीन पर्यटन लक्षित गर्दै वैशाख १ गतेदेखि राति १० बजेसम्म पर्यटकहरूका लागि पार्क खुला राखेको छ । यसका लागि स्मारक क्षेत्रभित्र रहेका ट्रयाकदेखि छेउछाउका रुखहरूसमेत झिलिमिलि हुने गरी विभिन्न रंगीन बत्तीहरू जडान गरिएको छ ।

स्मारक विकास समितिले पार्कभित्र गरिएको पछिल्लो परिवर्तनका लागि कुनै अध्ययन गरेर व्यवस्थित रूपमा सुरु गरेको भने होइन, स्मारक क्षेत्रका व्यवस्थापक रामचन्द्र न्यौपानेले नयाँ वर्षलाई लक्षित गरेर हतारमै रात्रीकालिन पर्यटन खुला गरिएको स्वीकारे । रातको समयमा आउने पर्यटकको सुरक्षा, खानपान, लगायतका सुविधाका विषयमा अझै काम भइनसकेको बताउँदै उनले भने, ‘सुरक्षाका लागि समन्वय भइरहेको छ तर रात्री पर्यटनलाई यसैगरी व्यवस्थित गर्ने भनेर विज्ञहरूसँग छलफल र योजना भएको चाहिँ होइन ।’

पार्कभित्र रहेका हरिया रुखमा जडान गरिएका झिलिमिलि बिजुली बत्तीसमेत आफैँसँग भएको जनशक्तिबाट जडान गरिएको न्यौपानेले बताए । तर जानकारहरू भने हरियो रुखमा बेरिएका तार र बत्तीले विद्युत सर्ट भएर आगलागि हुने जोखिम उच्च रहेको बताउँछन् ।


वनक्षेत्रमै रहेको स्मारकमा राती अबेरसम्म रगिंचगिं बत्तीहरू बल्ने र मानिसहरूको आवतजावत भइरहँदा सो क्षेत्रमा रहेका जीवजन्तु र चराचुरुंगी सबैभन्दा बढी प्रभावित हुने भएका छन् । वन विज्ञान अध्ययन संस्थान हेटौँडाका उपप्राध्यापक प्रविन पौडेलका अनुसार यसले जनावर र चराहरूको वासस्थान प्रभावित हुन्छ जसले गर्दा उनीहरू आफ्नो वासस्थान नै छाड्न बाध्य हुन्छन् ।

डिभिजन वन कार्यालय राप्ती, मनहरीका वन अधिकृत लोकराज नेपालले यस किसिमको व्यवस्थापनलाई अप्राकृतिक भनेका छन् । उनले आफूले यसबारेमा सुने पनि प्रत्यक्ष नपुगेको भन्दै स्मारकको पछिल्लो व्यवस्थापनले साँच्चै असर परेको निष्कर्षमा पुगेमा त्यसलाई हटाउनुपर्ने बताए ।

नवलपुर–सरस्वती बसामाडी सामुदायिक वनक्षेत्र अन्तरगत पर्ने सहिद स्मारक क्षेत्र २०५१ सालदेखि नै मकवानपुरको चर्चित पर्यटकीय क्षेत्रका रूपमा रहँदै आएको छ । रात्रीकालिन पर्यटनका लागि खुला गरिएसँगै दैनिक दुई सयभन्दा बढी पर्यटक रातमा स्मारक क्षेत्र पुग्ने गरेका छन् ।

प्रतिक्रिया