कार्यसम्पादन मूल्यांकनमा गौर नगरपालिका जिल्लामै पहिलो

रौतहट । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका गौर नगरपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लामै उत्कृष्ट भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादनबापत प्राप्त गरेको अंकको नतिजामा गौर नगरपालिकाले पहिलो स्थान प्राप्त गरेको हो । आर्थिक वर्ष २०८१÷२०८२ मा आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्यांकनबापत प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंकसम्बन्धी विवरणमा गौर नगरपालिकाले ५८.१६ अंक हासिल गरेको छ ।

१६ नगरपालिका र २ गाउँपालिकासहित १८ स्थानीय तह भएको रौतहटमा आयोगले १७ सूचक प्रयोग गरी गरेको कार्यसम्पादन मूल्यांकनमा ५०.२८ अंकका साथ चन्द्रपुर नगरपालिकाले दोस्रो स्थान प्राप्त गरेको छ । तेस्रो स्थानमा मौलापुर नगरपालिका ५५.४७ अंक, चौथो स्थानमा परोहा नगरपालिका ५३.२२ अंक, पाँचौँ स्थानमा राजदेवी नगरपालिकाले ४९.८० अंक पाएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २०८० फाल्गुन ८ गतेमा प्रकाशित गरेको विवरण अनुसार सबैभन्दा पछाडि १८औँ स्थानमा ३४.३१ अंक प्राप्त गरेको माधवनारायण नगरपालिका छ ।

छैठौँ स्थानमा कटहरिया नगरपालिका ४९.५३ अंक, सातौँ स्थानमा राजपुर नगरपालिका ४८.२४ अंक, ईशनाथ नगरपालिका ४८.१७ अंकका साथ आठौँ स्थानमा छन् । यसैगरी गुजरा नगरपालिका ४६.६१ अंकका साथ नवौँ स्थानमा, बौधीमाई नगरपालिका ४६.५४ अंक प्राप्त गरी १०औँ स्थान हासिल गरेको छ ।

११औँ स्थानमा गरुडा नगरपालिका ४४.७७ अंक, १२औँ स्थानमा गढीमाई नगरपालिका ४२.०२ अंक, १३औँ स्थानमा देवाही गोनाही नगरपालिका ४१.७८ अंक, १४औँ स्थानमा दुर्गा भगवती गाउँपालिका ४१.३७ अंक, १५औँ स्थानमा वृन्दावन नगरपालिका ४०.२४ अंक, १६औँ स्थानमा यमुनामाई गाउँपालिका ३६.७८ अंक र १७औँ स्थानमा ३५.३० अंकका साथ फतुवा विजयपुर नगरपालिका छन् ।

प्रदेश स्तरीय कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेश ३७.३१ अंकका साथ दोस्रो स्थानमा छ भने ४०.८९ अंक हासिल गरेर कोसी प्रदेश शीर्ष स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया