सरकारी वकिल कार्यालयको सेवामा सुधार

बारा । बाराको कलैयामा रहेको जिल्ला सरकारी वकिलको कार्यालयमा हुने सेवा प्रवाहमा उल्लेख्य सुधार आएको छ । कार्यालय प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश खत्रीले जिम्मेवारी सम्हालेपछि कार्यालयबाट प्रदान हुने सेवामा सुधार भएको हो ।
विगतमा सर्वसाधारणले सहजै भेट्न नपाउने यस कार्यालयका प्रमुखसँग अहिले सेवाग्राहीले प्रत्यक्ष भेटेर परामर्श सेवासमेत लिने गरेका छन् । कार्यालयले सेवाग्राहीलाई लक्षित गरेर जिल्लाका गाउँगाउँमा नियमित रूपमा कानुनी परामर्श सेवा सञ्चालन समेत गर्न थालेपछि सर्वसाधारण सन्तुष्ट भएका छन् ।

यसअघि खानेपानीको अभाव र अव्यवस्थित शौचालयका कारण कार्यालयमा सेवा लिन आएका सर्वसाधारण अन्यत्र जानुपर्ने बाध्यता रहेकामा अहिले कार्यालयले सेवाग्राहीका निम्ति प्रतीक्षालय, शौचालय र खानेपानीको समेत व्यवस्था गरेको छ । ‘केही वर्षअघिसम्म कार्यालयबाट प्रदान गरिने सेवा र भौतिक संरचना पनि व्यवस्थित थिएन, सेवाग्राही कृष्ण लामाले भने, ‘अहिले सेवासँगै कार्यालयको भौतिक संरचनामा पनि सुधार आएको छ ।’

प्रभावकारी सेवाका लागि कार्यालयमा सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न भौतिक संरचनामा पनि सुधार गरिएको कार्यालय प्रमुख खत्रीले बताए । उनले मधेस प्रदेश सरकार र जिल्लाका स्थानीय पालिकासँग समन्वय गरेर थुनुवा कक्षसहित, शौचालय, प्रतीक्षालय र कार्यालयको कम्पाउन्ड वालजस्ता संरचना तयार पारिएको जानकारी दिए ।

जिल्लाको जीतपुरसिमरा, महागढीमाईलगायत पालिकाले कार्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेको उनले बताए । ‘काम नपरी कार्यालयमा कोही पनि आउँदैनन्,’ सरकारी वकिल खत्रीले भने, ‘समस्यामा परेर आएका सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छौँ ।’ उनले त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको पनि बताए ।

हाल ५ कठ्ठा ११ धुर जग्गामा बनेको भवनको ४ किल्लामा पर्खाल, गेट र डिजिटल डिसप्ले बोर्ड निर्माण गरिएको छ । यस्तै सेवाग्राहीका निम्ति चिसोतातो खानेपानी, अपांगमैत्री शौचालयको समेत व्यवस्था गरिएको छ । कार्यालयले पीडित पक्षलाई यथाशक्य चाँडो न्याय दिने गरी काम गर्ने गरेको पनि प्रमुख खत्रीले बताए । यसका लागि समुदायमा सरकारी वकिल कार्यक्रम सञ्चालन गरिएको र त्यसको प्रभावमा धेरै पीडितले न्याय पाएको उनले बताए ।

सरकारी कार्यालयको काम कारबाहीलाई व्यवस्थित गरी नागरिकलाई सहज र सुलभ सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न आफूले ध्यान दिँदै आएको कार्यालय प्रमुख खत्रीको भनाइ छ । उनले महिला र बालबालिकाका निम्ति विशेष रूपमा काम गर्ने गरेको पनि जानकारी दिए ।

त्यस्तै गुणस्तरीय सेवाका लागि कार्यलयमा अभिलेखालय, सभा हल र कार्यालय प्रमुखको आवाससहितको सुविधा हुनुपर्ने उनले बताए । हाल अव्यवस्थित अभिलेखालयलाई व्यवस्थित बनाउने कार्य समेत सुरु गरिएको उनले सुनाए । ‘पुराना शैलीमा हातले लेखिएका मुद्दा हराउने, ढड्डामा फेला पार्न समय लाग्ने, नागरिकले भनेकै समयमा सेवा प्रवाहमा ढिलाइ हुने गरेको छ,’ उनले भने, ‘छिटो छरितो सेवा प्रवाह गर्न तथा अभिलेखलाई चुस्त पार्न अनलाइन प्रणाली समेत सुरु गरिएको छ ।’

बालबालिकासम्बन्धी ५ वटा मुद्दालाई सरकारी वकिलको कार्यालय बाराले दिशान्तर गरेको छ । बारा प्रहरीले ५ मुद्दामा करिब १ दर्जन बालबालिकालाई मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा पठाइएको थियो । तर, सरकारी वकिल कार्यालयले बालबालिकाको मुद्दामा बालकलाई बाल न्याय सम्पादन कार्यविधि २०७६ मा भएको सुविधाअनुसार मुद्दा दिशान्तर गरेको हो । यसबाहेक समेत यस कार्यालयले बालबालिकालाई पक्राउ गरेर म्याद थप गर्न ल्याउँदा म्याद थप गर्न नमिल्ने भनी दर्जनौँ म्याद थप फिर्ता पठाउँदै आएको कार्यालय प्रमुख खत्रीले जानकारी दिए ।

यस्तै सरकारी वकिल कार्यालयले सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका–२०८० लागू गर्दै मुद्दामा सहयोग गर्ने वादी तथा प्रतिवादीलाई २० प्रतिशतसम्म सजायमा छुटका निम्ति सिफारिस गरेको छ । निर्देशिकाले सहयोग गर्ने वादी वा प्रतिवादीले मुद्दामा प्रमाण जुटाउन लगायतमा सहयोग पु¥याएका व्यक्तिलाई २० प्रतिशतसम्म सजाय छुटको सिफारिस गर्ने गरेको प्रमुख खत्रीले जानकारी दिए ।

प्रतिक्रिया