लहडमा अभिभावकत्व ग्रहणले अन्यौलमा विद्यार्थीको भविष्य

हेटौँडा । ६ वर्षअघि बागमती प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल अभिभावक बनेर विद्यालय भर्ना गराइएकी जेसिका प्रजा अहिले ११ वर्षकी भइन् । सामान्य हिसाबले उनी यतिबेला कक्षा ७ मा पुग्नुपर्ने हो । तर, उनी २०८० को वार्षिक परीक्षामा कक्षा ४ मा फेल भइन् । अब फेरि जेसिकाले यसपालि ४ कक्षामै पढाइ दोहोर्याउनुपर्नेछ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ६, सुनाचुरीको चौकीटोलमा बुबा र दाइभाउजुसँगै बस्दै आएकी प्रजालाई पढाइमा खासै चासो छैन । उनकी आमाको केही समयअघि नै मृत्यु भइसकेको छ । ५४ वर्षका बुबा ज्ञानबहादुर प्रजाले उतिबेला छोरीलाई विद्यालयमा कसले भर्ना गराइदियो भन्ने पनि बिर्सिसके ।

जेसिकासँगै पूर्वमुख्यमन्त्री पौडेलले भर्ना गराएका अर्का विद्यार्थी सन्जित ब्लोनले विद्यालयको रेकर्डमा ४ वर्षअघि नै स्कुल छाडिसके । हाल भारतको दार्जिलिङ जिल्लास्थित मिरिक सहरमा रहेका ब्लोनले यता विद्यालय छाडेपछि उनी कहाँ गए भन्नेबारे न उनका अभिभावक बनेका पौडेलले खोजी गरे न उनको विद्यालयले नै ।

एकातिर घरको कमजोर आर्थिक अवस्था, अर्कोतिर पढाइमा छोराले मन नलगाएपछि सन्जितका बुबाले सन्जितलाई दाइसँगै मिरिक पठाइदिए । ‘अस्ति फागुनमा तीन वर्ष पूरा भयो’, बुबा भीमबहादुर ब्लोनले भने, ‘उता गुम्बामा लामा पढ्छ, अलिअलि कमाइ पनि हुन्छ ।’

भीमबहादुरका अनुसार अघिल्लोपटक तिहारमा आउँदा दुई दाजुभाइले झण्डै २० हजार भारु लिएर आएका थिए । ‘यता पढ्नलेख्नलाई कापीकलम किन्न पनि गाह्रो थियो । उता गएपछि लामा पढ्छ । बानी पनि सुध्रेको छ । अहिले त अब उतै बस्छु भन्न थालेको छ ।’ भीमबहादुरले छोराहरूलाई मिरिक पठाउनु परेकोमा दुःख होइन, बरु खुसी व्यक्त गरे ।

यता जेसिकाका बुबालाई छोरी पास हुन नसकेकोमा कुनै चिन्ता छैन । उनी भन्छन्, ‘यसपाली फेल भएर के भो त ? अर्को वर्ष त पास होला नि !’ तर जेसिकालाई राम्ररी पढ्ने वातावरण बनाउन नसकेकोमा भने उनी दुःखी छन् । उतिबेला ‘ठुला मान्छे’ आएर भर्ना गरिदिएपछि सबै कुरा राम्रो हुन्छ भन्ने सोचेका प्रजालाई पछि कापीकलमदेखि पोसाकसम्म आफैँले व्यवस्था गर्नु परेपछि नरमाइलो लागेको छ । पछिल्लोपटक उनले छोरीलाई किनिदिएको स्कुलको पोसाक पनि अहिले साँघुरो भएर फाटिसक्यो ।

जेसिका र सन्जित भर्ना भएका राष्ट्रिय माध्यमिक विद्यालय, सुनाचुरीका निवर्तमान प्रधानाध्यापक सूर्यबहादुर मोक्तानको बुझाइमा पदमा रहेकाहरूले लहडमा कार्यक्रम ल्याउँदा बालबालिकाको भविष्य थप अन्यौलग्रस्त भएको छ । ‘मुख्यमन्त्रीले सबै कुरा हेरिदिने भनेपछि घरपरिवार पनि त्यही आशमा बस्यो, उताबाट थप पहल केही भएन ।’ मोक्तान भन्छन्, ‘पदमा भएका मान्छेले आफैँ नभ्याए पनि कम्तिमा सचिवालयमार्फत बेलाबेलामा जानकारी लिइदिएको भए हामीलाई पनि सहज हुन्थ्यो ।’

मोक्तानले विद्यालयमा अन्य संघसंस्थाले अभिभावकत्व लिएका विद्यार्थीहरू पनि रहेको बताउँदै उनीहरूको व्यवस्थापन बरु उत्कृष्ट रहेको बताए । संघसंस्थाले नियमित रूपमा अनुगमनका लागि कर्मचारी पठाउने र विद्यार्थीको पढाइ पुरा नहुँदासम्म सहयोग गरिरहने उल्लेख गर्दै भने, ‘सरकारले अभिभावकत्व लिएको चाहिँ न अनुगमन छ, न निरन्तरता ।’

उतिबेला अभिभावकत्व लिएका तत्कालीन मुख्यमन्त्री पौडेलको तर्क भने फरक छ । विद्यार्थी भर्ना गर्न विद्यालय पुग्दा विद्यालय पोसाकदेखि झोला, जुत्ता, स्टेसनरी सामग्रीसमेत लिएर गएका उनले सधैँ उनीहरूका खबर राख्न सम्भव नहुने बताए । उनी भन्छन्, ‘एक–दुई वर्षसम्म स्कुलमा बेलाबखत सोधपुछ गरिएको हो । त्यसपछि विद्यालयले पनि खबर गरेन, यताबाट पनि खोजी भएन ।’

मनहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीको बुझाइमा अभिभावकत्व लिनु भनेको अभियानको बेला भर्ना गरिदिएर एकपटक शैक्षिक सामग्री दिनु मात्रै होइन । अभिभावकत्व लिइसकेपछि सम्बन्धित विद्यार्थीलाई निश्चित अवस्थामा नपुग्दासम्म निरन्तर सहयोग गरिरहनुपर्छ । ‘चर्चाका लागि मात्र यसरी अभिभावकत्व लिएर प्रभावकारी भएन । त्यस्ता बालबालिकाको अवस्था बुझेर आवश्यकताअनुसार अब पालिकाले नै सहयोगका लागि प्रधानाध्यापकहरूसँग आवश्यक समन्वय गर्छौं’, पराजुलीले भने ।

प्रतिक्रिया