अवैध मदिरा नियन्त्रणमा सशस्त्रको तदारुकता

मधेस ब्युरो । अवैध मदिरा उत्पादन, ओसार पसार र बिक्री वितरणमा प्रहरीले तदारुकता देखाएको छ । मधेस प्रदेशको प्रायः उत्तरी क्षेत्रमा उत्पादन भई दक्षिणी सीमासम्म पुग्ने गरेको अवैध मदिराको उत्पादन, ओसार पसार र बिक्री वितरणलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले पछिल्लो समय तदारुकता देखाएको हो ।

विभिन्न समयमा सार्वजनिक सबारी साधनलाई चेकजाँच गर्दै सशस्त्र प्रहरीले बेवारिसे मदिरा बरामद गरी नष्ट गर्ने गरेको छ । यसै क्रममा रौतहटको दुधियाभारमा रहेको सशस्त्र प्रहरी बेस क्याम्पले एकै दिन दुई सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरी नष्ट गरेको छ ।

जिल्लाको मध्यभाग भएर जाने चन्द्रनिगाहपुर–गौर सडक खण्डमा विभिन्न सबारी साधन चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले ११ ग्यालेनभन्दा बढी अवैध मदिरा बरामद गरेको हो । बरामद भएको मदिरालाई बेस क्याम्पभित्रै खाल्डो खनेर खन्याएर नष्ट गरिएको छ ।

बेसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्जित सिंहका साथै कटहरिया र गरुडा नगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय संचारकर्मी र सशस्त्र प्रहरी जवानहरुले खाल्डोमा खन्याएर अवैध मदिरा नष्ट गरेका हुन् । नष्ट गरिएको मदिरा दुई सय पन्ध्र लिटरभन्दा बढी भएको अनुमान गरिएको सशस्त्र प्रहरी निरीक्षक सिंहले जानकारी गराएका छन् ।

सशस्त्र प्रहरीले मदिराको अवैध उत्पादन तथा ओसारपसारमाथि कडा निगरानी बढाएको सप्रनि सिंहको भनाइ छ । साथै भन्सार छलेर तस्करी गरी ल्याएको सामान बरामद गरी सशस्त्र प्रहरीले निरन्तर बुझाइरहेको देखिएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया