३ सहसचिवको बढुवा

काठमाडौँ । सरकारले ३ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका प्रशासन सेवातर्फ रिक्त सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त सचिव (उपमहालेखापरीक्षक)मा बैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल बढुवा भएका हुन् ।

बढुवा सिफारिस समितिले मंगलबार अधिकारी र शर्मालाई विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस गरेको थियो । दुवै जनाको नाम एकल रूपमा सिफारिस भएको थियो भने उपमहालेखापरीक्षक पदका लागि पनि अधिकारीको एकल नाम सिफारिस भएको थियो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका लागि सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय पनि गरेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया