रामनवमीको अवसरमा जनकपुरधाममा विशेष आरती

जनकपुरधाम । रामनवमीको अवसरमा जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलगायत विभिन्न मन्दिरहरूमा पूजाअर्चनाका लागि नेपाल तथा भारतका सयौँ श्रद्धालुभक्तजनको एकाबिहानैबाट घुइँचो लागेको थियो । यस अवसरमा जानकी मन्दिरलगायत विभिन्न ठाउँमा देवमहात्म्य प्रदर्शन हुने धार्मिक तथा सांस्कृतिक झाँकी, भजनकीर्तन तथा प्रवचन लगायतका धार्मिक कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरमा भगवान् राम अवतरित भएको मानिने मध्याह्न १२ बजे विशेष आरती सम्पन्न गरेको जानकारी दिए । चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाइने राम जन्मोत्सव वासन्तिक नवरात्रभित्रमै पर्ने भएकाले भगवान् रामसँगै दुर्गाभवानी समेतको पूजाआजा गरी मनाइन्छ ।

सुशासन, सुव्यवस्था, धर्म, शान्ति, न्याय र सदाचारको पूर्णताको पर्याय मानिने रामराज्यको सम्झनामा रामनवमी मनाउने गरिएको छ । पितृभक्ति, मातापिताको आज्ञापालन, भ्रातृप्रेम, एकपत्नी व्रत, कृतज्ञता, शरणगतवत्सलता र प्रजाको भावअनुसार राज्यसञ्चालन जस्ता आदर्श गुणको अनुकरण तथा रावणरूपी शत्रुको हृदयबाट बहिष्करण पनि यस धार्मिक पर्वको सन्देश छ । यस अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया