मधेस ब्युरो । मधेस प्रदेशको विभिन्न जिल्लामा चैते धानको खेती विस्तार भएको छ । पछिल्ला वर्षहरूमा भने यसपटक चैते धानको खेतीमा विस्तार भएको देखिएको हो । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीका किसान रामेश्वर पटेलले चैते धानको उत्पादन राम्रो हुने तथा राम्रो मूल्यमा बिक्री पनि हुने हुनाले किसानको आकर्षण चैते धानतिर बढेको बताए । आफूले पनि केही वर्षदेखि चैते धानको खेती गरिरहेको बताउँदै बारा जिल्लामा चैते धान खेतीप्रति किसानको आकर्षण रहेको बताउँछन् ।
बाराको सिमरौनगढ क्षेत्रको हजारौँ बिघा खेतमा धान खेती गरिएको छ । अधिकांश किसानले धानको रोपाइँ गरिसकेका छन् । कतिपयले एकपटक गोड्ने काम पनि गरिसकेका छन् । बारा जिल्लामा केही वर्षदेखि चैते धान खेतीमा निकै वृद्धि भएको किसानहरूको भनाइ छ ।
गहुँ काटेर खाली भएको खेतमा लगत्तै धान रोप्ने काम रौतहटमा पनि भइरहेको छ । रौतहटको मौलापुर, बौद्धिमाई तथा फतुवा विजयपुरमा चैती धान खेती फस्टाएको हो । सिँचाइको सुविधा राम्रोसित पुगेको पालिकाका किसानले खेतलाई खाली छोड्नुको साटो दोहोरो धानबाली लगाउने प्रवृत्ति बढेको हो । मौलापुर नगरपालिकाले किसानलाई सम्पूर्ण बिजुली निःशुल्क उपलब्ध गराउने गरेको छ । नगरप्रमुख रिनाकुमारी साहले किसानको खेतमा लाग्ने सिँचाइको बिजुली बिल नगरपालिकाले तिरिरहेको हुनाले चैते धानको खेतीमा व्यापक विस्तार भएको बताइन् ।
कटहरिया नगरपालिका–८ पिप्रा पोखरियाका किसान राजाश्रेय राय यादवले दुतरा धानले राम्रो आम्दानी दिने गरेको बताउँछन् । चैते धानलाई कतिपय किसानले दुतरा धान पनि भन्ने गरेका छन् । दुतरा धानको उत्पादन राम्रो हुने तथा धानको राम्रो मूल्य हुने हुनाले किसानले दुतरा धानलाई नगदेबालीको रूपमा लिने गरेको यादव बताउँछन् ।
पर्साको धोबिनी गाउँपालिका–४ पर्सा गाउँका किसान रामाशंकर साह कलवारले गाउँका किसानले चैते धान खेतीमा निकै रुची लिएको बताएका छन् । अहिलेको मौसममा धान खेती गर्दा असार साउनको जस्तो मल र बिउका साथै काम गर्ने मजदुरको अभाव नहुने र उत्पादन भएको धान तत्काल बेचेर गर्जो टार्दै फेरि खेती गर्नका लागि कसैको मुख ताक्न नपर्ने हुनाले सिँचाइको सुविधा पुगेको ठाउँमा किसानहरूले धानको रोपाइँ गरिसकेको कलवार बताउँछन् ।
सर्लाहीमा पनि गत वर्षको तुलनामा निकै धेरै परिमाणमा दुतरा धान रोपिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा मकैखेती र मध्य तथा दक्षिणी क्षेत्रमा दुतरा धान खेतीमा व्यापक विस्तार भएको किसानहरूले बताए । चैते धानको उत्पादन बढाउन र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि सरकारले खेतखेतमा बिजुली पु¥याउनुपर्ने किसानहरूको माग रहेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया