सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवैको दाबी अस्वीकृत, समय दिएर फेरि दाबी आह्वान

काठमाडौं । सुदूरपश्चिमका प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुवै जनाको दाबी पेश अस्वीकृत भएको छ । मंगलबार प्रदेश प्रमुख नाजिर मियाँले एउटै पार्टीबाट मुख्यमन्त्रीका लागि पेश भएको दुवै जनाको दाबी अस्वीकृत गर्दै पुनः दुई दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेसकाे समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दाबीसहित मिति वैशाख ६ गते बेलुका ५ः०० बजे भित्रको समय दिएका हुन् ।

एउटै पार्टीबाट दुईवटा दाबी पेश भएपछि प्रदेश प्रमुख मियाँ कानुनी परामर्शमा थिए । त्यसपछि उनले दुवै जनाको दाबी अस्वीकृत गरेका हुन् ।

प्रतिक्रिया