एसीसी प्रिमियर कप : नेपालले टस जितेर हङकङविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल सुरु भएको छ । वर्षाले रोकिएर ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित भएपछि केही समय ढिलो गरी टस भएर अहिले जारी छ । वर्षाको कारण खेल ढिलो सुरु हुँदा २० ओभरको खेललाई परिवर्तन गरेर १८–१८ ओभरमा झारिएको छ ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

आजको खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । यता हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ ।

यसअघि खेलेको दुई खेलमा हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले हारेको थियो ।

प्रतिक्रिया