मिथिलाञ्चलभर मनाइँदै जुडशीतल

सिरहा । परापूर्वकालदेखि मनाइदै आएको मिथिलाको महापावैन जुडशीतल मिथिलाञ्चलभर मनाइँदैछ। विक्रम सम्वत परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइने गरिन्छवैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन छ ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पर्दछ । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कुलदेवता) लाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ। त्यसैगरी, गुणकारी सोहिजन (मुन्गा) को तरकारी, चनाको पिठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी–बरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।

वैशाख सङ्क्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व सुरु गरिन्छ। पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो , गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्मीमा शितलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ। ‘सतुवाइन’ मैथिल (मिथिलाका बासिन्दा) ले हिजै सम्पन्न गरेका छन् ।

पर्वको दोस्रो दिन अर्थात आज (वैशाख–२ गते) घर/घरमा परिवारका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिएका छन् । नयाँ वर्षले जीवनमा शितलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा रहेको छ । जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

प्रतिक्रिया