एकै ओभरमा ६ छक्का हान्ने दीपेन्द्र पाँचौँ खेलाडी

अन्तर्राष्ट्रिय म्याच

काठमाडौँ । ३१ अगस्ट १९६८ का दिन वेस्ट इन्डिजका अलराउन्डर सर गेरफिल्ड सोबर्सले एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान कायम गरेका थिए । सोबर्सले नटिंघम सायरका तर्फबाट खेल्दै ग्ल्यामरगानका माल्कोम नासको बलमा ६ छक्का प्रहार गरेका हुन् ।

यसपछि सुरु भएको एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको शृंखलामा नेपालका दीपेन्द्रसिंह ऐरी पनि थपिए । ऐरी अन्तर्राष्ट्रिय खेलमा लगातार ६ छक्का प्रहार गर्ने पाँचौँ खेलाडी हुन् । शनिबार ओमानमा भएको एसिसी प्रिमियिर लिगअन्तर्गतको खेलमा ऐरीले कतारका कमरान खानको बलमा ६ छक्का प्रहार गरेका हुन् । उनले २१ बलको सामना गर्दै ३ चौका र ७ छक्का प्रहार गरेका हुन् । एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय खेलमा पहिलो ६ छक्का प्रहार गर्ने खेलाडी भने दक्षिण अफ्रिकाका हर्सल गिब्स हुन् । उनले सन् २००७ को विश्वकप क्रिकेटमा कीर्तिमान कायम गरेका थिए । नेदरल्यान्ड्ससँगको खेलमा डान भान बुंगेको एकै ओभरमा उनले ६ छक्का प्रहार गरेका हुन् ।

सोही वर्ष दक्षिण अफ्रिकामा पहिलो टि–२० विश्वकप क्रिकेटको आयोजना भएको थियो । इंग्ल्यान्डसँगको खेलमा युवराज सिंहले स्टुवार्ड ब्रोडको अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

त्यसपछि एकै पटक २०२१ को मार्चमा अन्तर्राष्ट्रिय क्रिकेटमा यस किसिमको प्रदर्शन भएको थियो । वेस्ट इन्डिजका किरोन पोलार्डले श्रीलंकाका अकिला धनञ्जयको एकै ओभरमा यो सफलता पाएका थिए । पोलार्डले विस्फोटक ब्याटिङ गर्नु १ ओभरअघि मात्र धनञ्जयले ह्याट्रिक गरेका थिए ।

पोलार्डले यो सफलता पाएको ३ वर्षपछि दीपेन्द्रसिंह ऐरीले सो सफलता पाएका हुन् । पोलार्ड र ऐरीका बीचमा अमेरिकी ब्याट्सम्यान जासकरन मलहोत्राले पनि सो सफलता पाएका थिए । मलहोत्राले सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध भएको खेलमा यो सफलता पाएका हुन् ।

यी ५ खेलाडीमध्ये २ खेलाडीले विश्वकपमा सफलता पाएका थिए । हर्सल गिब्सले विश्वकपमा नै यस किसिमको प्रदर्शन गरे पनि उनको प्रदर्शनले दक्षिण अफ्रिकालाई विश्वकपको उपाधिसम्म लैजान असफल भएको थियो । यसैगरी युवराज सिंहले सो सफलता पाएको खेलमा भारतले उपाधि नै जितेको थियो ।

सन् १९८३ को विश्वकपपछि उपाधिको खडेरी लागेको भारतका लागि सिंहको त्यो सफलताले नयाँ मोड नै दिएको थियो । त्यसै समयमा कप्तान महेन्द्रसिंह धोनीको नेतृत्व र युवराज सिंहको प्रेरणामा अघि बढेको भारतले सन् २०११ को विश्वकपको उपाधिसमेत जितेको थियो ।

सन् २००७ कै विश्वकपमा भने भारतले इंल्यान्डलाई हराएको खेलमा रनको वर्षा नै भएको थियो । भारतले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २१८ रन जोडेको थियो । सिंहले १६ बलमा ५८ रन प्रहार गरेका थिए । इग्ल्यान्डले पनि २०० रन बनाएको थियो ।

प्रतिक्रिया