एसीसी प्रिमियर कप : कतारलाई नेपालले दियो २११ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेटअन्तर्गत आज भएको समूह ‘ए’ मा नेपालले आफ्नो दोस्रो खेलमा कतारलाई जितका लागि २११ रनको लक्ष्य दिएकोे छ ।

टस जितेर कतारविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएर कतारलाई जितका लागि २११ रनको लक्ष्य दिएको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६४ रन जोडे । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे । दीपेन्द्र २१ बलमा ६४ रनमा अविजित रहे । उनले ७ छक्का र ३ चौका प्रहार गरे ।

ओपनर आसिफ शेखले अर्धसतक प्रहार गरे । उनले ४१ बलमा ५२ रन जोडेर आउट भए । कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले ७, कुशल भुर्तेलले १२, गुल्सन झाले ५ र विवेक यादवले ५ रनको योगदान दिए ।

बलिङमा कतारका हिमान्शु राथोडले ३, मुशावर शाहले ३ र अमिर फारुकले एक विकेट लिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

ओमानमा जारी आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै जित सुरुवात गरेको थियो । आज पनि कतारलाई हराउँदै नेपालले लगातार दोस्रो जित हात पार्ने दाउमा रहेको छ । अहिले कतारले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया