डोल्पाको वनमा लागेको डढेलोमा परी गम्भीर घाइते तीनै जना बालकको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको आगलागीमा परेका तीनै जना बालकको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा आज मृत्यु भएको प्रजिअ दाहालले बताए । आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै जना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं पठाएको थियो ।

उनीहरूको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै १६ लाख ५० हजार खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए । ‘खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ’, उनले भने । यसअघि डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन जना सैनिकको ज्यान गएको थियो ।– रासस

प्रतिक्रिया