एसीसी प्रिमियर कपमा आज कतार र नेपालको खेल हुँदै

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेटअन्तर्गत आज नेपालले समूह ‘ए’ का आफ्नो दोस्रो खेल कतारसँग खेल्दै छ । ओमानमा जारी आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै जित सुरुवात गरेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा नेपाललाई जितका लागि १४४ रनको लक्ष्य दिएको थियो । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपालका स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित सुरुवात गरेको हो । आज नेपालको दोस्रो खेल कतारसँग दिउँसो ४ः१५ बजे ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

कतार शुक्रबार आफ्नो पहिलो खेलमा हङकङसँग २६ रनले हारेको थियो । शुक्रबार नै भएको अर्को समूह ‘बी’ तर्फ ओमानले बहराइनलाई ३ रनले हराएको थियो । युएईले कुवेतलाई ७ विकेटले हराएको थियो । १० टोली सहभागी यस प्रतियोगितामा विजेताले एसिया कप खेल्ने छ ।

प्रतिक्रिया