यी स्टारको राजनीतिक यात्रा

खेलकुद र राजनीतिको सम्बन्ध संसारमै छ । राजनीतिक नीतिका कारण जसरी त्यो देशको सबै पक्षलाई असर गर्छ, त्यसैगरी खेलकुदलाई पनि निःसन्देह असर गर्छ नै । खेलकर्मी राजनीतिमा प्रवेश गर्दा सफल या असफल दुई वटै सम्भावना रहेका छन् । राजनीतिलाई असर गर्ने त्यस समाजका अन्तर्निहित बस्तुहरूको कम जानकारी भएका कारण कतिपय असफल भएका छन् भने आफ्नो लक्ष्यमा अडिग रहने आदतका कारण स्टार खेलाडी राजनीतिमा पनि सफल भएका उदाहरण पनि छन् । राजनीतिमा लागेका संसारका स्टार खेल व्यक्तित्वका विशेषता के हो भने उनीहरू सधैँ परम्परागत बाटोमा मात्र यात्रा गरेनन् । आवश्यक समयमा आफैँले नयाँ बाटो बनाउने जाँगर पनि देखाए ।

संसारका कतिपय देशका स्टार खेलाडी भनिनेहरू राजनीतिक नेतासँग सम्पर्क बढाउनकै लागि मिहिनेत गर्ने र चाटुकारिता गर्ने प्रचलन नभएको होइन । सायद नेपालीका लागि त यो सामान्य हो । यसको विपरीत धेरै देशमा स्टार खेल व्यक्तित्व राजनीतिक नेतृत्वमा पुगेका छन् । अन्य राजनीतिक व्यक्तित्व भन्दा दृढ, योजनामा प्रस्ट र इमानदार छवि भएका कारण ती व्यक्तित्व लोकप्रिय पनि छन् ।

यसरी राजनीतिमा छाउनेमा हाम्रो छिमेकी देश पाकिस्तानमा पूर्व विश्वकप विजयी क्रिकेट टोलीका कप्तान इमरान खान पनि हुन् । हाल उनी जेलमा छन् । परन्तु कुनै समय उनी देशको शासन चलाउने स्थानमा पुगेका थिए । सम्भवतः खेलकुद र राजनीतिमा उत्तिकै माथिल्लो स्थानमा पुग्ने उनी संसारका विरलै व्यक्ति हुन् ।

खेलकर्मी राजनीतिमा प्रवेश गर्ने क्रम भारतमा अझ बढी छ । १९८३ को विश्वकप विजयी क्रिकेट टोलीका सदस्य कीर्ति आजाद राजनीतिमा सक्रिय नाम हो । कीर्ति आजाद भारतमा भएको एउटा विद्रोहको कारण अहिले पनि चर्चामा छन् । उनी आफ्ना बाबु विहारका पूर्व मुख्यमन्त्री भागवत झा आजादको पथलाई पछ्याउँदै राजनीतिमा प्रवेश गरेका उनी भारतीय जनता पार्टी(भाजपा)मा आबद्ध भए । भारतीय स्वतन्त्रता सग्राामका योद्धा हुनुका साथै विहारमा अत्यन्त लोकप्रिय रहेका कारण छोरा कीर्तिमा पनि यसको प्रभाव रहेको थियो ।

विहारको दरभंगाबाट २०१४ मा दोस्रोपटक लोकसभामा निर्वाचित उनी दिल्ली क्रिकेट बोर्ड र दिल्ली क्रिकेट एसोसिएसनमा आर्थिक हिनामिना गरेको आरोपमा अर्थमन्त्री अरुण जेट्लीमाथि आक्रामक थिए । यसै कारण भाजपाले उनलाई कारबाही गरेको होे । २०१९ मा उनी भाजपा छाडेर भारतीय राष्ट्रिय कांग्रेसबाट उम्मेद्वार भएका थिए । सो निर्वाचनमा उनी पराजित भए । सांसदमा त उनी पराजित भए तर भारतीय क्रिकेटमा उनले उठाएको भ्रस्टाचार विरोधी अभियानमा कारण धेरैले अहिले पनि सम्झने गरेका छन् ।

२००४ का ओलम्पिक पदक विजेता भारतका सुटर राज्य बर्धन राठौर पनि अहिले राजनीतिमा सक्रिय छन् । २०१४ मा राजनीतिमा सक्रिय उनी भाजपामा आबद्ध छन् । यस दलबाट सञ्चार राज्यमन्त्री साथै खेलकुद मन्त्री हुन उनी सफल भए ।

सेवास्टिनको कुनै समयमा चर्चित धावक थिए । ८० को दशकमा ओलम्पिक कीर्तिमान राख्न सफल धावक राजनीतिमा प्रवेशसँगै सांसद तथा ब्रिटिस ओलम्पिक कमिटीका अध्यक्ष भए । कोले सन् २०१८ मा बेलायतमा विश्वकप आयोजनाको अवसर दिलाउन प्रयास गरेका थिए । सो प्रयास सफल भएन ।

सन् १९९५ मा जर्ज वेले फिफा वल्र्ड प्लेयर अफ द इयर तथा बालोन डी अवार अवार्ड जितेका थिए । यो सफलता पाउने उनी एक मात्र अफ्रिकी खेलाडी हुन् । फुटबलबाट सन्यास लिएपछि उनी आफैँले दल स्थापना गरे । लाइबेरियामा प्रजातन्त्रको अगुवाइ गर्ने सो दल सुरुका दुई निर्वाचनमा पराजित भए पनि २०१७ पछि जर्ज वे राष्ट्रपतिमा निर्वाचित भए । यसपटक फेरी जर्ज वे शासनबाट बाहिरिएका छन् ।

गेरी कास्पारोभ संसारकै चर्चित चेस खेलाडी हुन् । उनले चेस खेलबाट सन्यास लिएपछि २००५ मा युनाइटेड सिभिल फन्ट स्थापना गरेका थिए । यस फन्टको उद्देश्य देशको नेतृत्व गर्ने थियो । २००८ मा राष्ट्रपतिको उम्मेद्वार हुने तयारी गरेका उनले पछि सो दौड त्यागे । २०१४ मा क्रोएसियाली नागरिक बनेका उनी अहिले मानव अधिकार बादी संगठनको प्रमुख छन् ।

बहुमुखी प्रतिभाका धनी फिलिपिन्सका स्टार मुक्केबाज मेनी पाक्वीयोले आसन्न निर्वाचनमा राष्ट्रपति पदमा उम्मेद्वार भए पनि सफलता पाएनन । उनी दुई पटकका सिनेटर हुन् । उनले सत्तारूढ दल पिडीपी लडानबाट उम्मेद्वार भएका हुन् । ४३ वर्षीय पिक्वियो अहिले संसद् सदस्य छन् ।
पाक्वियोको दलभित्र क्रिस्टोफर बंगसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । परन्तु बंगले आफू डुटेरेटको उत्तराधिकारी हुने कुरालाई अस्वीकार गरे । दलले भने उनलाई निर्णयमा पूनर्विचार गर्न भनेको थियो । वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटरेट अर्को प्रत्यासीको रूपमा रहेकी थिइन् । अहिले फर्नान्डो मार्कोस जुनियर राष्ट्रपति छन् ।

मुक्केबाजको रूपमा पाक्वियो भिन्न आठ तौल समूहमा विश्व च्याम्पियन भएका थिए । उनको पछिल्लो हार क्युबाका प्रतिद्वन्द्वीसँग भएको थियो । उनले आफूले सन्यासको बारे सोचेको हारपछि नै बताएका थिए । दुई वर्षअघि उनले सन्यासको घोषणा गरेका हुन् ।
उनले रिङभित्र र रिङ बाहिर कहीँ पनि आफू फाइटरको रूपमा रहने प्रतिक्रिया दिएका छन् । उनले गरिबी र भ्रष्टाचारलाई आफ्नो चुनावी मुद्दा बनाएका छन् । गरिबीको पीडाका माझ उत्कृष्ट बनेका पाक्वियोको बाल्यकाल त्यत्तिकै कहालीलाग्दो थियो भने युवा अवस्था सनसनीपूर्ण सफलताले भरिएको थियो ।

पाक्वियो २०१६ देखि सांसद सदस्य रहे । १९९०, २०००, २०१० र २०२० को दशकमा विश्व च्याम्पियनको ताज आफूसँग राख्नु तथा फ्लाइ वेट, फेदरवेट, लाइटवेट र वेल्टर वेटमै च्याम्पियन हुनु दुर्लभ कीर्तिमान उनको नाममा रहेको छ । पाक्वियो यति धेरै बहुमुखी प्रतिभाका खानी हुन् कि २०१४ देखि २०१७ को बीचमा उनी फिलिपिन्स बास्केटबल एसोसिएसन (पिबिए) टोली किया महिन्द्राका खेलाडी तथा टोली कप्तान थिए । उनैले सेमी व्यावसायिक बास्केटबल लिगको रूपमा केइथ थुमारानको स्थापना गरेका थिए ।

फिल्म अभिनेता उनी टेलिसिरियलमा पनि संलग्न थिए । संगीतमा समेत रमाउने उनी आफैँ संलग्न भएर गीति एल्बम पनि प्रकाशित गरेका छन् । संघर्षका प्रतीक यी खेलाडीले बाल्यकालको दुःख भने कहालीलाग्दो छ । उनी ६ कक्षाको विद्यार्थी हुँदा बाबु र आमाको सम्बन्धविच्छेद भएको थियो । कुकदीनानका बासिन्दा उनी १४ वर्षको उमेरमा राजधानी मनिलामा पुगेका थिए । मनिलामा सडक बालकको रूपमा रहेका उनी मजदुरी गर्न थाले । यसैबाट उनले आफ्नो भोक टार्ने र केही रकम आमालाई पठाउने गर्थे । विद्यालयमा प्राथमिक अध्ययन गरेका उनले गरिबीका कारण माथिल्लो तहलाई त्यागेका थिए ।

बक्सिङ खेलाडी भएर पैसाको आर्जन गरेपछि फेरी पढेका उनले २००७ मा विद्यालय तह पूरा गरेका थिए । १५ वर्षको उमेरमा एमच्योर बक्सिङ खेल्न थालेका उनले १६ वर्षको उमेरमा प्रोफेसनल बक्सिङ खेल्न सुरु गरेका थिए ।

उनले उत्कृष्ट मुक्केबाज हुनुका कारण नै आफ्नो गरिबी भएको बताउँछन् । गरिबीका कारण अन्य विकल्प नभएको तथा आफ्नो परिवार पाल्न कठोर मिहिनेत गर्न परेको बताउँछन् ।

१९ वर्षको उमेरमा उनले फ्लाइ वेटको डब्लुबिसी उपाधि जितेका थिए । उनले आफ्नो सनसनीपूर्ण खेल जीवनमा २२ जना विश्व च्याम्पियनलाई पराजित गरे । २०२१ को अगस्टमा योडेनिस उगाससँग भिडन्त उनको भिडन्तको रूपमा रह्यो ।

बक्सिङ राइटर एसोसिएसन अफ अमेरिका, विश्व बक्सिङ काउन्सिल र विश्व बक्सिङ अर्गनाइजेसनले उनलाई २०२० मा दशकको फाइटरको रूपमा सम्मानित गरेको थियो । २००६, २००८ र २००९ मा उनलाई इएसपिएनले वर्षको मुक्केबाज घोषणा गरेको थियो । इएसपिएनले नै उनलाई पछिल्लो २५ वर्षमा दोस्रो उत्कृष्ट तथा सर्वकालीन पाँचौँ उत्कृष्ट व्यावसायिक मुक्केबाजको रूपमा सूचीकृत गरेको थियो ।

प्रतिक्रिया