रौतहट र सर्लाहीका डेढ सय शिक्षक विस्थापित हुँदै

मधेस ब्युरो । रौतहट र सर्लाहीबाट करिब डेढ सय शिक्षक विस्थापित हुने भएका छन् । शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक सिफारिस भएर आएपछि नियुक्ति र पदस्थापन प्रक्रियामा रहेकाले रौतहट र सर्लाही जिल्लामा प्राथमिक तहमा कार्यरत करार तथा राहत दरबन्दीका शिक्षकहरू विस्थापित हुन थालेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले बुधबार नै १४४ शिक्षकलाई नियुक्ति दिइसकेको छ । रौतहटमा रहेको १८ वटै पालिकामा स्थायी शिक्षक नियुक्ति गरेर पठाइएको समन्वय इकाइ प्रमुख रामविनय कुमार सिंहले जानकारी दिए ।

शिक्षामा सरोकार राख्नेहरूको सामूहिक र वैज्ञानिक निर्णयले २०७६ असार ३० देखि यता नियुक्ति तथा पदस्थापन भएका करार शिक्षक विस्थापित हुने अवस्था आएको देखिएको हो । रौतहटमा केही दरबन्दी रिक्त रहेकोले करिब ७४ जना करार शिक्षक विस्थापित हुने अवस्था रहेको सम्बद्ध स्रोतको दाबी रहेको छ ।

बुधबार अबेर साँझ समन्वय इकाइ रौतहटले नियुक्ति दिएको र बिहीबार इद–ऊल–फित्रको सार्वजनिक बिदा परेकोले अधिकांश शिक्षकले पालिकामा नियुक्ति बुझाउन पाएनन् । इकाइले नियुक्ति दिएर पालिकामा पठाउने तथा पालिकाले कुनै विद्यालयको दरबन्दीमा पठाउने गरिएको छ । बिहीबार सार्वजनिक बिदा परेकोले बुधबार नियुक्ति पाएका प्राथमिक तहका स्थायी शिक्षकहरूले शुक्रबार मात्रै पालिकाबाट पदस्थापनको पत्र पाउने र शुक्रबार नै विद्यालयमा हाजिर तथा पदस्थापन हुने सम्भावना रहेको छ ।

करारमा कार्यरत बाहुबली शिक्षकहरूले पालिकाबाट आफ्नो विद्यालयमा स्थायी नियुक्तिको शिक्षक नपठाउन दबाब सिर्जना गरिरहेको बुझिएको छ । करारका शिक्षकले आफ्नो जागिर बचाउन पालिका प्रमुख तथा प्रअमाथि व्यापक दबाब दिइरहेको देखिएकोले प्राथमिक तहको स्थायी शिक्षक पदस्थापन केही पेचिलो हुने देखिएको छ ।

यसै गरी सर्लाहीमा पनि ७७ करार तथा राहतका शिक्षक विस्थापित हुने देखिएको छ । शिक्षक सेवा आयोगबाट १८३ जना प्राथमिक तहको स्थायी शिक्षक पदमा सिफारिस भई आएकोले पदस्थापनको क्रममा ७७ शिक्षक विस्थापित हुने देखिएको हो ।

सर्लाहीमा पनि विभिन्न सामुदायिक विद्यालयमा केही दरबन्दी रिक्त रहेकाले ७७ शिक्षक मात्र विस्थापित हुने भएका हुन् । जिल्लामा रिक्त रहेका दरबन्दी र करार तथा राहत दरबन्दीमा नियुक्त भएका शिक्षकमध्ये जिल्लाको अभिलेखअनुसार २०७६ पुस १ गतेपछि नियुक्ति तथा पदस्थापन भएका करार र राहत दरबन्दीका शिक्षक विस्थापित हुने देखिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनील कुशवाहाले जानकारी गराए । सबैभन्दा बढी बलरा नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयबाट करार तथा राहतका शिक्षक विस्थापित हुने भएका हुन् । बलरा नगरपालिकाबाट १७ जना करार तथा राहत शिक्षक विस्थापित हुन लागेको कार्यालयले जनाएको छ ।

रौतहट र सर्लाहीमा एकसाथ धेरै संख्यामा स्थायी शिक्षक नियुक्ति हुन थालेको पहिलोपटक हो । सर्लाहीमा १८३ र रौतहटमा १४४ स्थायी शिक्षक नियुक्ति भएर विद्यालमया पुग्दा चार वर्षदेखि कार्यरत करार तथा राहतका शिक्षक विस्थापित हुन थालेका हुन् ।

रौतहटमा करार शिक्षकलाई मात्र चलाइएको छ भने सर्लाहीमा करार र राहत दुवै किसिमका शिक्षकलाई चलाइने भएको हो ।

रौतहट र सर्लाहीमा प्राथमिक तहमा सबैभन्दा बढी शिक्षक दरबन्दी रहेको छ । रौतहट र सर्लाही दुवै जिल्लमा एक–एक हजारभन्दा बढी प्राथमिक शिक्षक दरबन्दी रहेको छ । दुवै जिल्लामा विद्यार्थी र विद्यालयको तुलनामा शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या हुँदै आएको गुनासो रहेको छ ।

प्रगातिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार पटेलले लामो समयदेखि करारमा कार्यरत शिक्षक तत्काल विस्थापित हुन नपाएको तथा कनिष्ठ शिक्षकमध्ये केही विस्थापित हुनुपर्ने अवस्था आएको बताउँदै स्थानीय सरकारहरूलाई विस्थापित शिक्षकलाई पालिकाबाट नियुक्ति दिएर कामकाजमा लगाइराख्न सुझाव दिएको बताएका छन् । विस्थापित हुने शिक्षकलाई पालिकाले नियुक्ति दिँदा सबै समस्या समाधान हुने अध्यक्ष सिंहको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया