जसले छामेरै मोटरसाइकल मर्मत गर्छन्

हेटौँडा । सौर्य प्रतिनिधि हेटौँडा उपमहानगरपालिका–३, बसामाडीमा रहेको ढकाल मोटरसाइकल वर्कसपमा पुगेको केहीबेरपछि बा ९४ प ४१०८ नम्बरको मोटरसाइकल आइपुग्यो । केहीबेरमा ५४ वर्षीय सुदर्शन ढकालले मोटरसाइकलको इन्जिन स्टार्ट गरे । इन्जिनबाट अस्वाभाविक आवाज आइरहेको थियो । श्रीमती कमला अर्यालले औजारहरू रहेको भाँडो ढकालको छेउमा राखिदिइन् । छामछुम गर्दै ढकालले इन्जिन बक्समा केहीबेर एलेन की घुमाए । मोटरसाइकलको आवाज स्वाभाविक लयमा फर्कियो ।

युवा अवस्थामै आँखाले साथ छोडेका ढकालले वर्कसपमा यसरी सेवा दिन थालेको २८ वर्ष भइसकेको छ । २०५३ सालमा भाजुरत्न इन्जिनियरिङमा काम गर्दै गर्दा एकपटक उनी साथीहरूसँग मोटरसाइकलमै धरानको यात्रामा थिए । कोसी पुलनजिकै पुग्दा उनको अगाडि गुडिरहेको कारले एक्कासी ब्रेक लगायो । ढकालले त्यो समय सम्झँदै सुनाए, ‘कारको रातो बत्ती अचानक मेरो आँखामा टल्कियो । त्यसपछि मैले केही देखिन ।’

साथीहरू सबै उनलाई छोडेर अघि बढिसकेका थिए । अलिअलि मधुरो देखिएको राजमार्ग छेउमा कोरिएका सेता धर्साहरूलाई पछ्याउँदै बिस्तारै अघि बढे । पछि साथीहरू फर्केर आएर उनलाई गन्तव्यमा पुर्याए ।

‘त्यतिबेलादेखि आँखामा डम्म कुहिरोले ढाकेको जस्तो हुन्छ । अलिअलि सेतो र कालो देख्छु । रङहरू कुनै छुट्याउन सक्दिनँ’, ढकालले सुनाए । ९४ वर्ष पुगेका बुबाले पात्रो पल्टाएर जजमानी गरिरहँदा ढकालले दृष्टि गुमाएका छन् । तर, उनलाई आफ्नो अवस्थाप्रति खासै दुःखेसो भने छैन ।

डाक्टरले उनको आँखाको नशा सुकेको भनेका छन् । आँखाको उपचारकै लागि उनले धेरै ठाउँ धाए । भारतको बरेलीसम्म पुगे । वर्षमा तीनतीनपटकसम्म रामपालजी महाराजको दर्शन गर्न पनि भ्याए । तर, समस्या उस्तै रह्यो । अहिले उनलाई वर्कसपमा श्रीमती र छोराले कहिलेकाहीँ साथ दिन्छन् । ‘वायरिङ बिग्रेको बाहेक अरू कामको लागि त मलाई साथी चाहिँदैन’, सहयोगीका बारेमा प्रसंग निस्कनेबित्तिकै ढकालले सुनाए, ‘वायरिङको पनि छेउमा बसेर तारको रङ मात्र बताइदिने मान्छे भए पुग्छ ।’

‘कसरी सक्नुहुन्छ त छामेको भरमा बनाउन ?’ भन्ने प्रश्नमा उनले भने, ‘फलामले बोलेको बुझ्नुपर्छ । इन्जिन भनेको फलाम त हो । काम गर्ने बेला म फलामसँग कुरा गर्छु ।’
ससाना पार्टपुर्जा र नटबोल्टहरू काम गर्दै जाँदा उनले राखेको ठाउँबाट कसैले सारिदिए भने चाहीँ अलि अप्ठ्यारो पर्छ । यस्तोमा श्रीमती अर्यालको सहयोग महत्त्वपूर्ण हुन्छ । छोरा राजीवले मोटरसाइकल बनाउनुअघि र बनाइसकेपछि टेस्ट राइड गरेर सघाउँछन् । महेश आश्रम देवघाटबाट संस्कृत पढेका उनी प्रायः आफैँ बुबासँग हात कालो बनाउन आइपुग्छन् ।

नौ कक्षामा फेल भएपछि मोटरसाइकल मर्मतको काम सिकेका ढकाल आफूले रोजेको पेसाप्रति पूर्ण सन्तुष्ट छन् । तीन मोहरमा आधापेट भात खाएर काम सिकेका दिन सम्झँदै भन्छन्, ‘त्यतिबेला हेटौँडामा मुस्किलले ३७–३८ वटा बाइक गुड्थे । कन्ट्याक्ट पोइन्ट सिस्टमबाट सुरु गरेको कार्बोरेटर हुँदै अहिले एफआई सिस्टम आइसक्यो । तर जे जे आए पनि पेट्रोल इन्जिनको जरो त एउटै हो नि ।’

ढकाललाई आफूले बेलामा सही काममा हात हालेछु भन्ने लागेको छ । ‘अरू काम सिकेको भए त आँखा नदेख्ने भएपछि कसरी पेट पाल्न सकिन्थ्यो र ?’ श्रीमती र छोरा पनि ढकालकै भाषा बोल्छन् । उनीहरूले सँगै काममा सघाउन पाएकोमा खुसी व्यक्त गरे । कहिलेकाहीँ आफूहरू नभएको मौकामा केही सेवाग्राहीले ढकाललाई झुक्याएर कम पैसा दिने गरेकोमा भने अर्यालको दुःखेसो छ । ‘दुःख गरेर (मोटरसाइकल) बनाउनुहुन्छ । आँखा देख्नुहुन्न भन्ने थाहा पाएपछि कम पैसा दिएर धेरैले झुक्याएका छन्’, अर्यालले भनिन् ।

प्रतिक्रिया