सौर्य दैनिकका मधेश प्रमुख श्रीवास्तवलाई एकै दिन दुई सम्मान

मधेस ब्यूराे । सौर्य राष्ट्रिय दैनिकका मधेश ब्युरो प्रमुख आरके श्रीवास्तव एकै दिन दुई संस्थाबाट सम्मानित भएका छन् । श्रीवास्तवलाई जनकपुर र गौरका संस्थाहरुले सम्मान गरेका हुन् ।
जनकपुरमा मुख्य कार्यालय रहेको श्री सरस्वती राजनारायण प्रतिष्ठान नेपालले रौतहटको गरुडामा गम्छा ओढाएर सम्मानपत्रले श्रीवास्तवलाई सम्मानित गरेको थियाे । मधेशको कला र साहित्यलाई सौर्य दैनिकमार्फत श्रीवास्तवले समाचार तथा लेखमा प्राथमिकता दिएकाले सम्मानित गरिएको आयोजकले जनाएको छ ।

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनिप्रसाद कलवार र प्रतिष्ठानका अध्यक्ष चन्देश्वर रौनियारले श्रीवास्तवलाई संयुक्त रुपमा सम्मानित गर्दै पत्रिकाको पनि प्रशंसा गरेका छन् । यसै गरी रौतहट जिल्ला क्रिकेट संघले पनि श्रीवास्तवलाई प्रशंसापत्रले सम्मानित गरेको छ । सौर्य राष्ट्रिय दैनिकमा क्रिकेटको समाचार नियमित रुपमा प्रकाशन गरी खेलकुदको सम्मान गरेको तथा पालिका कपको गरिमा बढाएको भन्दै संघले सम्मान गरेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघका अध्यक्ष पवन साह द्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रशंसा पत्रले प्रदेश सांसद नागेन्द्र साहले श्रीवास्तवलाई सम्मानित गर्दै भविष्यमा क्रिकेटको विकासमा पत्रकारितामार्फत सहयोगको अपेक्षा रहेको पनि बताएका छन् ।


आफूले आफ्नो कर्म गरेको र सम्मानित गरेपछि आफ्नो कर्मसँगै सौर्य दैनिक परिवार पनि सम्मानित भएको प्रतिक्रिया श्रीवास्तवले दिएका छन् । सम्मानले आफूलाई कर्ममा लाग्न अझ प्रेरित गरेको श्रीवास्तवले बताएका छन् । सौर्य देनिकका मधेश प्रदेश ब्यरो श्रीवास्तव मधेश प्रदेशमा निकै सक्रिय रही विभिन्न क्षेत्रको समाचारलाई प्राथमिकता दिइरहेका छन् ।

प्रतिक्रिया