गाउँमै प्रसुति गृह र विद्यालय भवन बनेपछि स्थानीय हर्षित

मुगु । गाउँमा विद्यालयको पक्की भवनन र प्रसुति गृह एकै पटक बनेपछि स्थानीय हर्षित भएका छ्न् ।
जिल्लाको उत्तरी सोरु गाउँपालिका– ९ तलिकालै गाउँमा रहेको मष्टा आधारभूत विद्यालयमा नयाँ पक्की भवन र कालै प्रसुति गृह एकसाथ निर्माण सम्पन्न भएपछि स्थानीयहरु हर्षित भएका हुन् ।

ब्याक टु लाइभ इबि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वय साझेदारीमा ६२ लाख ८४ हजार २७४ रुपैयाँको कुल लागतमा दुई तलाको चार कोठे विद्यालय भवन र ५३ लाख १० हजार ९९ रुपैयाँको कुल लागतमा दुई तले चार कोठाको पक्की प्रसुति गृह निर्माण गरिएको छ । बुधबार एक कार्यक्रमबीच उक्त विद्यालय भवन हस्तान्तरण तथा प्रसुति गृहको उद्घाटन एकसाथ गरिएको थियो ।

आफ्नै घर अगाडि पक्की विद्यालय भवन बनेपछि स्थानीयले खुशी हुँदै बाजाघाजा, फूलमाला, अबिर जात्रासहित कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गरेका थिए । विद्यालयको भवन हस्तान्तरण र प्रसुति गृह उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित संस्थाका अध्यक्ष, अन्य सदस्य, कर्मचारी, जिल्लास्थित अन्य विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयको उपस्तिथी रहेको थियो ।

गाउँमा पक्की विद्यालय भवन बनेपछि खुशी हुँदै मस्टा आधारभूत विद्यालय्का बिब्यस अध्यक्ष भानुभक्त चौलागाईंले भने, ‘अब विद्यार्थीहरुले रुखमुनी बसेर बढ्ने दिनको अन्त्य भएको छ, सहयोगी संस्थालाई धन्यवाद छ, कुनैबेला रुखमुनी बसेर पढ्नुपर्ने समस्या थियो, अब हाम्रा बालबालिकाले पक्की सुविधासम्पन्न भवनका कोठामा बसेर पढन पाउने भए ।’

यस विद्यालाय्मा ८७ घरधुरीका ८९ जना बालबालिका अध्ययनरत छ्न् । गाउमै पक्की विद्यालय भवन र प्रसुति गृह निर्माण भएपछि साह्रै खुशी लागेको भन्दै तलिकालै गाउँका भक्तिप्रसाद चौलागाईंले बताए । उनले खुशी हुँदै भने, ‘अब साना विद्यार्थीलाई रुखमुनी र कच्ची भवनमा बसेर पढ्नु नपर्ने र गाउँका गर्भवती महिलालाई गोठमा सुत्केरी हुनुपर्ने बाध्यता समेत अन्त्य भएको छ ।’

घर अगाडि बनेको प्रसुति गृहमा आफ्ना छोरी–बुहारीहरुले अबका दिनमा सुत्केरी हुन पाउने भएपछि साह्रै खुशी लागेको बताउँछिन् कालै गाउँकी ६० वर्षीया उता लुवार । आफ्ना दिनमा यस्ता अस्पताल र स्वास्थ्य संस्था नभएको सुनाउँदै उनले आफूले पाँच बच्चा गोठमै जन्माएको बताइन् । अब गाउँका छोरी–बुहारीलाई प्रसुति गृहमै सुत्केरी गराउन पठाउने उनले बताइन् ।

आफ्ना तीन बच्चा गोठमै जन्माएको सम्झँदै कालै गाउँकै अर्की ३४ वर्षीया धनदेवी शाही भन्छिन्, ‘आफूले पनि आफ्ना बच्चा गोठमै जन्माएकी हुँ, अब त घर अगाडि संस्थाले सुविधासम्पन्न प्रसुति गृह बनाइदियो, सुत्केरी हुन धेरै सजिलो हुने भयो ।’ पहिला पुरानो र जिर्ण साँघुरो भवनबाट सुत्केरी सेवा दिन निकै असजिलो असुरक्षीत भएको र अब नयाँ भवन बनेपछि सुत्केरीलाई दिइने (ANC PNC) लगायतका सेवा दिन सजिलो हुने कालै प्रसुति गृहकी इन्चार्ज कमला रावतले बताइन् ।

अबका दिनमा गर्भवती महिलालाई सबैखाले सेवा दिने कोठा छुट्टाछुट्टै भएको र सुत्केरी गराउन सजिलो हुने पनि इन्चार्ज रावतले बताइन् । उनले भनिन्, ‘नवनिर्मित प्रसुति गृहबाट माथि कालै र तल्लो कालै गाउँका करिब ३५० घरधुरीका गर्भवती महिलाहरुले सेवा लिने छ्न्, महिनामा ४ देखी ७ जनासम्म सुत्केरी सेवा लिन र (ANC PNC) सेवा लिन १०–११ जना आउँछन् ।’

कर्णाली सामुदायिक विकास केन्द्रकी अध्यक्ष संगीता मल्ल शाहीले आफ्नो संस्थाले समुदायको मागमा आधारित रहेर विद्यालय भवन र प्रसुति गृहलगायत अन्य विभिन्न मागमा आधारित कार्यक्रम तथा विकास निर्माणका कामहरु गर्दै आएको बताइन् ।

आगामी दिनहरुमा यस्तै दुरदराजका जनताको मागमा आधारित रहेर उनीहरुको आवश्यकतालाई प्राथमिकतामा काम गर्ने योजना रहेको पनि अध्यक्ष मल्लले बताइन् । केसिडिसिसँगको समन्वय तथा साझेदारीमा व्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले मुगु जिल्लामा स्वास्थ्य, शिक्षा र सामुदायिक विकासमा लामो समयदेखि काम गर्दै आएको छ ।

प्रतिक्रिया