तोकिएको समयअघि नै काम गर्ने कम्पनी सम्मानित

पर्सा । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेका कारण धेरैजसो निर्माण कम्पनी र व्यवसायी आलोचित भइरहेका बेला पर्सामा एक निर्माण कम्पनीले तोकिएको समयभन्दा पहिला काम सम्पन्न गरेर सम्मानित भएको छ । ठेकेदार कम्पनीले समय सीमाभन्दा दुई महिना अगाडि नै निर्माण कार्य सम्पन्न गरेकोले सडक कालोपत्र योजना उद्घाटनका दिन निर्माण कम्पनीका प्रोपराइटर सन्तोष गुप्तालाई फूलमाला, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ । जिल्लाको पर्सागढी नगरपालिकामा भएको सो कामको प्रशंसा गर्दै निर्माण कम्पनीलाई नगरप्रमुख गोकर्ण पाठकले सम्मानित गरेका हुन् ।

नगरस्तरीय कार्यक्रमअन्तर्गत सञ्चालित जनता सडकदेखि कोइलाभार जाने सडक कालोपत्र कार्य गर्न पर्सागढी नगरपालिकाले २ करोड ४५ लाख ६६ हजार ४३८ रुपैयाँमा निर्माण कम्पनी श्री जिएस, थोकर–गोविन्द जेभी, भेडिहारी–२ पर्साका प्रोप्राइटर सन्तोषकुमार गुप्तासँग सो १ दशमलव ५४ किलोेमिटर सडक कालोपत्र निर्माण गर्ने सम्झौता गरेको थियो ।

२०८० वैशाख १५ गते भएको सम्झौताअनुसार निर्माण कार्य २०८१ वैशाख १५ भित्र निर्माण काम सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । ठेकेदार कम्पनीले तोकिएको समयभन्दा दुई महिना पहिला नै निर्माण कार्य सम्पन्न गरेकाले निर्माण व्यवसायी श्री जिएस थोकर–गोविन्द जेभी पर्साका प्रोप्राइटर सन्तोषकुमार गुप्तालाई सम्मानित गरिएको थियो ।

प्रोप्राइटर गुप्ताले भने, ‘आज मलाई सम्मानित गर्दा धेरै खुसी लागेको छ । निर्माण कार्यमा कहिले गाली हुन्छ, कहिले ताली हुन्छ । निर्माण कम्पनीले काममा इमानदारीपूर्वक सम्पन्न गर्दा यसरी जनप्रतिनिधिबाट सम्मान पाइन्छ । तर, हामीले समयमा काम सकेनौँ या नियत खराब राख्यौँ भने, गाली खाने मात्रै होइन, पेसा नै संकटमा पर्छ ।’ उनले नगरपालिकाले गरेका सम्मानले आफूमा कामप्रति हौसला बढेको र खुसी लागेको बताए । यस्तै सो योजनमा टिएका इन्जिनियर र सबइन्जिनियरले पनि आफ्नो काम र मिहिनेतले योजना बेलैमा सम्पन्न भई कामको मूल्यांकन भएकोमा खुसी व्यक्त गरे ।

पालिकाले दिएको समय र योजनाअनुसार सन्तोषजनक काम गरेकोमा निर्माण कम्पनी र त्यसमा खटिने व्यक्तिलाई सम्मान गरिएको प्रति यसको सम्बन्धमा नगरप्रमुख गोकर्ण पाठकले जानकारी गराए । ‘जिम्मेवारी कुशलतापूर्वक गर्नेलाई सम्मान र नगर्नेलाई दण्डित गर्ने हो भने हरेक काम समयमा नै हुने भएकाले यस कामको मूल्यांकन गरेर सम्मान गरिएको हो’, नगरप्रमुख पाठकले भने ।

उनले यस कामबाट अन्य निर्माण कम्पनीले पनि सिकुन भनेर सम्मानित गरिएको पनि बताए । ‘सबै निर्माण कम्पनीले समयमा नै राम्रो काम गरुन् भनेर नै हौसला बढाउन सम्झौताभन्दा दुई महिना पहिला काम सम्पन्न गरेकोले उद्घाटनका दिन सम्मानित गरिएको हो’, नगरप्रमुख पाठकले भने ।

प्रतिक्रिया