जमिनमुनि पाइपभरि पानी, जमिनमाथि गोकर्णेश्वरबासी तिर्खै !

काठमाडौं । हिउँदयामको चर्को घाम सुरु भएसँगै खोलानालासहित पानीका मुहान सुक्दा देशका विभिन्न ठाउँमा खानेपानी अभाव चर्किन थालेको छ । संघीय राजधानी काठमाडौं उपत्यका क्षेत्रभित्रकै कतिपय बस्तीमा समेत खानेपानीको चरम अभाव हुन थालेको हो ।

काठमाडौँ उपत्यकामा चक्रपथभित्र मेलम्ची खानेपानीको आपूर्ति केही हदसम्म सहज भए पनि मेलम्ची र सुन्दरीजलको खानेपानीको पाइप बिछ्याइएको गोकर्णेश्वर क्षेत्रमा भने अहिले पानीको चर्को अभाव देखिएको छ ।

खानेपानीका अभाव बढ्दै जाँदा स्थानीय पानी माग्दै पालिकादेखि सांसदको दैलोसम्म पुग्न थालेका छन् । खानेपानीको व्यवस्थापन गरिदिन भन्दै स्थानीयले हारगुहार गर्न थालेपछि यस क्षेत्रबाट संघीय सांसद, पालिका प्रमुखहरू पानी माग्दै संघीय मन्त्रालयसम्म पुगेका छन् ।
स्थानीयको मागको पोको बोकेर सांसद र मेयर÷उपमेयर खानेपानी मन्त्रीकहाँ पुगेका हुन् ।

खानेपानीमन्त्री रामकुमार राईलाई भेटेर उनीहरूले खानेपानी समस्या यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन् । काठमाडौँ महानगरपालिकाबासीलाई खानेपानीका लागि भएको असजिलो अन्त्य गर्न पाइप बिच्छाउने सिलसिलामा परेको अप्ठेरोको गाँठो फुकाएको विगतको घटना स्मरण गराउँदै उनीहरूले सबैले खानेपानी सहजै खान पाउनुपर्ने माग राखेका हुन् ।

मन्त्रीसँग भेटेर प्रतिनिधिसभा अर्थसमितिका सभापति सन्तोष चालिसेले काठमाडौँबासी तिर्खाएका बेला पाइप बिच्छाउन जग्गा उपलब्ध गराउनेहरू अहिले मर्कामा परेकाले सरकारले त्यसलाई बुझ्न आवश्यक रहेको बताए ।

यस्तै, सांसद शान्ति श्रेष्ठले काठमाडौँ उपत्यकामा पानी वितरणका लागि ठुलो ट्यांकी निर्माण गरिएको क्षेत्र वरपरका जनता खानेपानी नपाएर काकाकुल बन्नुपर्ने अवस्था कहिलेसम्म अन्त्य हुन्छ ? भनी प्रश्न गरिन् । पूर्वसांसद रामेश्वर फुँयाल र कृष्णबहादुर राईले गोकर्णेश्वरका जनताले खानेपानी नपाउनु भनेको खानेपानीको पाइप बिच्छाइएको ठाउँमा तिर्खा हुने र विद्युत्को तार टाँगिएको ठाउँमा अँधेरोजस्तै भएको प्रतिक्रिया दिए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामाले विकास निर्माणसँग सम्बन्धित निकायबीच पूर्वाधार निर्माणमा समन्वय र सहयोग नहुँदा विनियोजित बजेट खाल्टो खन्न तथा पुर्नमा मात्रै सीमित हुन पुगेको बताए ।

गोकर्णेश्वर–१ देखि ५ सम्म सुन्दरीजलको र ६ देखि ९ सम्म मेलम्चीको खानेपानी वितरणको व्यवस्थाका लागि उपभोक्ता र जनप्रतिनिधिले खानेपानीमन्त्री राईसँग अनुरोध गरेका हुन् ।
जबाफमा मन्त्री राईले जनप्रतिनिधि, निर्माण व्यवसायी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीचको छलफलका आधारमा समस्या समाधानका लागि सरकारको तर्फबाट समस्या सम्बोधन गर्न हरसम्भव प्रयत्न हुने विश्वास दिलाएका थिए ।

प्रतिक्रिया