गहवामाईको निशानसहितको डोली यात्रा हुने

वीरगन्ज । पर्सा जिल्लास्थित माईस्थान सञ्चालक समितिले वीरगन्जमा पहिलोपटक गहवामाईको निशानसहितको डोली यात्राको आयोजना गर्ने भएको छ । आउँदो ४ वैशाखमा गहवामाई मन्दिरमा पूजापाठ गरी भब्यरूपले यात्रा निकालिने सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

सोमबार माईस्थान मन्दिरको अतिथि सदनमा पत्रकार समेलन गर्दै समितिले प्रथम निशानसहितको डोली यात्रा गहवामाई मन्दिरको प्रांगणबाट सुरु गरी रोड नम्बर २ हुँदै बिर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै पुनः गहवामाई मन्दिरमा पुगी समापन हुने जनाएका छन् ।

यात्रामा अनुमानित खर्च आठ देखि १० लाखसम्म लाग्ने बताइएको छ । सो खर्चमा आधाभन्दा बढी माइस्थान सञ्चालक समितिका कोषाध्यक्ष तथा नारायणी सेन्ट्रल हस्पिटलका निर्देशक डा.प्रमोद सरार्फले व्यक्तिगत सहयोग गर्ने तथा थप खर्च सञ्चालक समितिले बेहोर्ने बताइएको छ ।
त्यस्तै चन्दा तथा सहयोगका लागि अपिल नगर्ने, दाताबाट प्राप्त सहयोगलाई स्वीकार गर्ने समितिले जनाएको छ । यात्राका लागि निसानसहितको १५ सय झण्डा समितिले उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया